२० मिलियन डलरमा बनमन्त्रीको गिद्दे नजर
काठमाडौं–संयुक्त राष्ट्रसंघीय ३१औँ जलवायु सम्मेलन (कोप–३१) मा नोभेम्बर ९ देखि टर्कीमा जारी छ । उक्त सम्मेलनमा कृषि वन तथा वातावरणमन्त्री गीता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली टर्की पुगेको छ । उक्त टोलीसँगै रास्वपाका नेता, सांसददेखि असम्बन्धित व्यक्तिहरूसमेत पुगेपछि रास्वपाभित्रै खैलाबैला मच्चिएको छ । मन्त्री चौधरीले सम्मेलनसँग कुनै साइनो र सम्बन्ध नै नभएका आफ्नो सचिवालयका सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र पार्टीसँग सम्बन्धित व्यक्तिहरूलाई सम्मेलनका नाममा लगेको आरोप लागेको छ । धेरै नेपालीलाई भिजिट भिसामा टर्की पुर्याएर भगाउने योजना रहेको हुनसक्ने आशंका समेत गरेका छन् ।
मन्त्री चौधरीले आफ्नो सचिवालयमा रहेका सरिता थारू, रुक्मणि थपलिया, अभिषेक श्रेष्ठ, प्रकाश लामा लगायत पाँच जनालाई सचिवालयका तर्फबाट लगेकी छन् । त्यसबाहेक केही पत्रकारलाई पनि मन्त्री चौधरीले टर्की पुर्याएकी छन् । मन्त्री चौधरीको तजबिजमा लगिएका मानिसहरूको सम्पूर्ण खर्च राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यहोरेको छ ।
सम्मेलनमा अहिलेसम्म मन्त्री चौधरीसहित परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल टर्की पुगेका छन् । यसअघिका सरकारका पालामा वन तथा वातावरणमन्त्री र केही वन तथा वातावरण मन्त्रालयका सम्बन्धित अधिकारीले सरकारका तर्फबाट सहभागिता जनाउने गरेका थिए । तर, विगतका अभ्यासलाई नै भुलाउने गरी लर्को लागेर मन्त्रीहरू पनि टर्की पुगेका हुन् ।
टर्की भ्रमणको सूचीमा आशिष गजुरेल, सुम्निमा उदास, श्रीराम न्यौपाने, सागर ढकाल, कमल सुवेदी, अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, धर्म केसी, नीता घतानी, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे, राधिका रम्तेल, सरस्वती लामा, सुनीलबहादुरलगायत ३० सांसद पनि टर्की पुगेका छन् । संसद सचिवालयका अनुसार धर्म केसी र हरेक दलका एकजनाको दरमा ६ जना सांसद भने सरकारी सूचीमा गएका हुन् । अन्य सांसदहरु भने वन मन्त्रालयको समन्वयमा गएका हुन् ।
टर्की पुगेका केही सांसददेखि मन्त्रीको सचिवालयका सदस्यसम्मको सम्मेलनमा नेगोसिएसन र वार्तामा कुनै भूमिका छैन । त्यसरी टर्की पुगेका मन्त्रीका सचिवालयका सदस्य तथा अन्य व्यक्तिहरूले घुमेर दिन कटाइरहेका छन् । मन्त्री चौधरी पनि नेगोसिएसन र प्लेनरी बैठकमा सहभागी हुन छोडेर साइड इभेन्टमा भाग लिँदै हिँड्ने गरेकी छन् । जुन साइड इभेन्टमा उनी सहभागी हुन्छिन्, नेपालबाट गएको उनको सचिवालय, सांसद तथा उनले लगेका पत्रकारहरू उनीसँगै हुने गरेका छन् ।
मन्त्रीको यस्तै हर्कतले विश्व बैंकका प्रतिनिधि पनि बाक्क दिक्क भएका छन् । विश्व बैंकले राखेको बैठकमा आधा घण्टा ढिलो पुगेपछि विश्व बैंकका प्रतिनिधिहरूले मन्त्री चौधरीलाई थर्काएका छन् । मन्त्री यो सव गर्नुमा हानि–नोक्सानी कोषले नेपाललाई प्रदान गर्ने २० मिलियन डलर आफू निकटका संस्थामार्फत ल्याउनका लागि गरिरहेको श्रोतको दावि छ । उक्त रकम नेपाल ल्याउने प्रक्रियाका लागि मान्यताप्राप्त संस्था योग्य मानिन्छन् । नेपालमा राष्ट्रिय प्रकृति संरक्षण कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक योग्य छन् । तर, मन्त्री चौधरीले मान्यताप्राप्त नगरेको एफएओमार्फत उक्त रकम नेपाल ल्याउनेगरी भूमिका निर्वाह गरेकी छन् । यो भ्रमणमा गएका असम्बन्धीत व्यक्तिले खर्च व्यहोर्न पनि मन्त्री चौधरीले एफएओलाई निकै ठूलो दवाव दिएको श्रोतको भनाई छ । स्रोतका अनुसार सम्मेलनस्थलमा भएको बैठकमा मन्त्री चौधरीले यही लाइनबाट एफएओका प्रतिनिधिसँग कुराकानी गरेकी थिइन् ।
सुशासन, पारदर्शिता र मितव्ययिताको नारा दिएर उदाएको रास्वपाका मन्त्रीहरुको यस्तो हर्कतले सर्वसाधारणमात्र होइन रास्वपाभित्रै खैलाबैला मच्चिएको छ । सरकारको काम कारबाही र कार्यशैलीलाई लिएर पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको छ । टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा असम्बन्धित व्यक्तिहरूलाई समेत सरकारी खर्चमा लगिएको भन्ने चर्चा भइरहेका बेला उक्त पार्टीका दुई सांसदले यसबारे सरकारको धारणा मागेका छन् ।
प्रधानमन्त्री बालेन्द्र साह निकट भनी चिनिएका सांसद गणेश कार्कीले कोपमा सहभागी हुन जानेहरूको संख्या र भ्रमणको खर्चबारे सार्वजनिक स्पष्टता चाहिने जनाएका छन् । सरकारी स्रोतबाट भ्रमणको व्यवस्था मिलाएर सम्मेलनमा पुगेका र कोपको विषयसँग प्रत्यक्ष सरोकारसमेत नराख्ने सहभागीप्रति उनको कटाक्षपूर्ण असन्तुष्टि छ ।
त्यस्तै, रास्वपाकै सांसद आशिका तामाङले पनि सांसदहरूको विदेश भ्रमणको औचित्य, प्रक्रिया र खर्चको पारदर्शितामाथि प्रश्न उठाएकी छन् । राज्यको ढुकुटीबाट सांसदहरू कति पटक विदेश भ्रमण गर्न पाउने हुन् भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टीका अन्य सांसदहरूलाई समेत कतिपय भ्रमणबारे जानकारी नहुने अवस्था रहेको उल्लेख गरेकी छन् ।
टर्कीको नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको सम्मेलनमा नेपालबाट ५ जना मन्त्रीदेखि करिव ३० जना सांसदसम्मको सहभागिता छ । तर, विडम्बना के छ भने, सुशासन र जवाफदेहिताको भाषण गर्ने दलकै सांसदहरूले सरकारको भ्रमण व्यवस्थापन र खर्च प्रणालीमाथि प्रश्न उठाइरहेका छन् । अझ आफ्नै पार्टीका सांसदहरूले एकअर्काको भ्रमणबारे समेत जानकारी नपाउने अवस्था रहेको तामाङको भनाइले पार्टीभित्रको समन्वय निर्णय प्रक्रियामाथि पनि प्रश्न खडा गरेको छ ।
कुरा कोप ३१ मा मात्र सिमित छैन, रास्वपाकै २० जना सांसद चीन जाँदैछन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद ११ दिने भ्रमणका लागि कात्तिक २९ गते चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आचार्यसहित सांसदहरु हरि ढकाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।