यस्तो अवस्थामा भेटिइन् गृहमन्त्री गुरुङकी आमा, भनिन् ‘छोरासँग कुरै हुँदैन, मलाई उसले हेर्नु पनि पर्दैन’
चण्डी माता, ज्वाला देवीको नामले परिचित ज्ञानु लामा तामाङ गृहमन्त्री सुधन गुरुङको आमा हुन् । उनलाई टन्टलापुर घाम लागिरहेको बेलामा पनि पानी पार्ने ज्वाला देवीको रुपमासमेत चिन्ने गरिरहेको छ । देशको गृह प्रशासन सम्हालिरहेका गृहमन्त्री गुरुङलाई आफूलाई जन्मदिने आमाको कुनै प्रवाह छैन, नत आमालाई नै छोराको बारेमा चिन्ता छ ।
प्रहरी प्रशासनदेखि शान्ति सुरक्षासम्मको जिम्मेवारी लिएका गुरुङकी आमाको पछिल्लो भिडियोले निकै चासोको विषय बनेको छ। सार्वजनिक भएको भिडियोमा आमालाई पत्रकारले सोध्छन्—छोरासँग कुराकानी हुन्छ ?
जवाफ आउँछ—‘हुँदैन, कहिलेकाहीँ काम पर्यो भने फोन गर्छ। मेरो कुरै हुँदैन। अहिले त ऊ गृहमन्त्री भइसक्यो।’ अझ पत्रकारले अर्को प्रश्न गर्छन्—छोराले तपाईंलाई हेर्नुपर्ला नि ?
त्यसपछि ज्ञानु लामा तामाङको जवाफ झनै चाखलाग्दो छ। ‘मलाई उसले हेर्नुपर्दैन। मेरो जग्गा खाएको छ। म एकदमै डिपेन्ड भयो भने, हात छुट्टा चलेन भने मलाई उसले हेर्ने हो। अहिले म सक्षम छु। उसले मलाई हेर्नु पर्दैन।’ उनले भनेकी छन् ।
उनले अरु गार्जेनलाई सुझाव दिदै भनेकी छन्, ‘छोरालाई हेर, छोरीलाई हेर भन्ने होइन। सुधन गुरुङ मेरा आफ्नै छोरा हो। मैले नर्मल जन्म दिएको हुँ, अप्रेशन होइन। आफ्नै प्रतिभा छ, आफ्नै क्षमताले उसले मलाई हेर्नुपर्दैन।’
आखिर किन गृहमन्त्रीकी आमाले छोरासँग कुराकानी नहुने बताइरहेकी छन् ? के उनीहरूबीच पारिवारिक दूरी छ ? वा यो सामान्य पारिवारिक सम्बन्धकै एउटा पाटो हो ? सुधनको पारिवारिक पृष्ठभूमिबारे प्रकाशित विवरणअनुसार उनका आमाबुबा उनी छ महिनाको हुँदा अलग भएका थिए। बाल्यकालमा उनलाई हजुरआमाले हुर्काएकी थिइन्।
गोर्खाबाट काठमाडौं आएकी ज्ञानुले काठमाडौं असहायको सहरा बनेकी छन् । उनले आफूलाई शिव र बुद्धको आशिष मिलेको बताउने गरेकी छन् । बौद्ध क्षेत्रमा सामाजिक काममा सक्रिय ज्ञानु राजनीतिमा पनि जोडिएको नाम हो । ज्ञानु लामा तामाङले छोराको राजनीतिक पद र हैसियतभन्दा पनि आफ्नै क्षमता र आत्मनिर्भरतालाई महत्त्व दिनुमा राजनीति चेतना झल्काउँछ । राजनीतिक यात्रामा आमाको आफ्नै संघर्ष छ, छोराको आफ्नै सफलता छ ।
२०७४ साल कात्तिक १६ गते। काठमाडौंको राष्ट्रिय सभागृहमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको थियो। त्यही भीडमा एउटी महिला हातमा कागजपत्र बोकेर निर्वाचन कार्यालय पुगेकी थिइन्। उनले उम्मेदवारी दर्ताका लागि पाँच हजार रुपैयाँ बुझाएर रसिदसमेत लिएकी थिइन्। तर समस्या के भयो भने उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने प्रस्तावक र समर्थकको व्यवस्था मिलेन। अर्थात निर्वाचन अधिकृतले उनलाई पत्याएनन् । त्यसपछि राष्ट्रिय सभागृह परिसरमै ज्ञानु डाँको छोडेर रुन थालिन्। तिनै रुने महिला थिइन् सुधन गुरुङकी आमा ज्ञानु ।
उनले निर्वाचन कार्यालयका कर्मचारीलाई आफूले दुई घण्टाभित्र समर्थक र प्रस्तावक खोजेर ल्याउन नसक्ने भन्दै गुनासो गरिरहेकी थिइन्। त्यसबेला सञ्चारमाध्यमले खिचेको उनको यो भिडियो निकै चर्चित बनेको थियो।
तर यो उनको पहिलो राजनीतिक प्रयास थिएन। यसअघि २०७४ सालकै स्थानीय तह निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। अझ रोचक कुरा, आफूलाई ‘ज्वालादेवी चण्डी माता’ बताउने ज्ञानु राजनीतिक तथा राजावादी गतिविधिमा समेत सहभागी हुने गरेकी छन् । सुधन गुरुङ दिलबहादुर गुरुङका छोरा हुन् भने ज्ञानु लामा तामाङ उनकी आमा हुन्।