कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन

आइतबार, २९ कार्तिक २०८३

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत गरेका छन् ।

छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको ईभी गाडी भिमफेदीको चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेका थिए । उक्त दुःखद दुर्घटनामा एकै परिवारका छ जनासहित सुन्दरपुरका १३ जना र चालकसमेत गरी कुल १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादवसँग सभापति थापाले भेटघाट गरी परिवारको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले परिवारमा बाँकी रहेका एकमात्र जीवित छोराको शिक्षादीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कक्षा १० सम्मको अध्ययन गराउने आश्वासन दिएका छन् ।

दुर्घटनाबाट प्रभावित परिवारसँग भेट गर्दै सभापति थापाले दुःखको यस घडीमा परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।