आँधी-तुफानको ब्रमास्त्र लिन रसिया पुगे प्रचण्ड

आइतबार, २९ कार्तिक २०८३

प्रचण्डले दशैंपछि ‘आँधी, बेरी र तुफान’ ल्याउने तथा सरकार ढाल्न सात लाख मानिस सडकमा उतार्ने घोषणा गरेका थिए । नेकपा संयोजक प्रचण्डले दशैअघि बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध सडक संघर्ष गर्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको आन्दोलनको तयारीका लागि पार्टीले दुई महिने राष्ट्रिय जागरण अभियान चलाइरहेको छ ।

मंसिर २५ गतेसम्म चल्ने उक्त अभियानले सरकारविरोधी आन्दोलनको वातावरण तयार गरेको बताइन्छ । देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको सन्देसहित नेता, कार्यकर्तालाई जनतामाझ पठाएर प्रचण्ड रसिया पुगेका छन् । आफ्ना स्वकीय सचिवलाई मात्र लिएर प्रचण्ड शुक्रबार रहस्यमय रसिया भ्रमणमा गएका छन् । उनी पाँच दिन रसियामा बस्ने बताइएको छ । रसियामा हुँदा सहभागी हुने एक कार्यक्रमको बारेमा मात्र जानकारी गराइएको छ ।

अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा आयोजना भएको फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलनमा प्रचण्ड सहभागी हुनेछन् । यो सम्मेलनमा विश्वभरका कम्युनिस्टहरुको उपस्थित हुनेछन् । यो सम्मेलनको उदेश्यमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने रहेको बताइएको छ । अर्थात यो सम्मेलनमा अमेरिकी साम्राज्यवादको खुलेर विरोध हुनेछ ।

प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यता राखेर अल रसियन पोलिटिकल पाटीले विगतमा पनि यस्ता सम्मेलन आयोजना गर्ने गरेको थियो । यसअघि विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावभन्दा धेरै शक्तिकेन्द्र भएको विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ग्लोबल साउथका मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने उदेश्यले सन् २०२४ मा पनि मस्कोमै फर द फ्रिडम अफ नेसन्स, फर अ जस्ट वर्ल्ड शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।

अल रसियन पोलिटिकल पाटी पनि यो आफैँमा कुनै पार्टी होइन । अखिल रूसी राजनीतिक दल रूसभरि क्रियाशील राजनीतिक पार्टीहरूको संस्था हो । प्रचण्डका स्वकीय सचिव केशव रावलका अनुसार पाँच दिन रूसमा रहेर प्रचण्ड स्वदेश फर्किनेछन् । रुसमा रहदा राष्ट्रपति भलादमिर पुटिन लगायत शीर्ष नेतृत्वसँग भेटवार्ता हुने विषयमा कुनै जानकारी दिइएको छैन । रावलका अनुसार प्रचण्ड १९ तारिखका दिन नेपाल फर्किने छन् । अर्थात सम्मेलन सकिएको दुई दिनपछि प्रचण्ड नेपाल आइपुग्ने छन् । यो बिचमा हुने प्रचण्डको गतिविधिलाई गोप्य राखिएको छ ।

नेपालमा अमेरिकी युथ काउन्सिलमार्फत बालेन सरकार बनेको आरोप लाग्नु, रसियामा अमेरिका विरोधी कार्यक्रम आयोजना हुनु र उक्त कार्यक्रममा प्रचण्डको सहभागीता हुनुले उनको भ्रमण आफै रहस्यमय छ । उक्त सम्मेलनमा प्रचण्डकै हैसियता भएका अरु नेताको सहभागीता नहुनुले पनि भ्रमणलाई थप रहस्यमय बनाएको छ । केही प्रचण्ड विरोधी नेताहरुले नेपालमा बनेको अमेरिका पक्षधर सरकार विरोधी आन्दोलनका लागि आवश्यक सहयोग माग्न प्रचण्ड रसिया पुगेको हुनसक्ने आशंका गरेका छन् ।

उनीहरुले प्रचण्ड रसियाबाट फर्किदा आन्दोलनको व्यवस्थापनका लागि ब्रमअस्त्र नै लिएर आउने दावि गरेका छन् । विगतमा नेपालको विकासमा रसियाको निकै ठूलो सहयोग रहदै आएको थियो । राजा महेन्द्रको पालामा रसियाले थुप्रै उद्योग संचालनका लागि आर्थिक र प्राविधिक सहयोग गरेको थियो भने सडक पूर्वाधार निर्माणमा पनि निकै ठूलो योगदान रहेको थियो । २०४६ सालपछि उदाएको नेपाल कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले अमेरिकाको पक्षधरता लिदै नेपालमा उदारिकरणको अर्थनीति लागु गरेपछि रसियाले नेपाललाई गर्ने सहयोग घटाएको थियो । अमेरिकी नीतिका कारण रसियाले सहयोग गरेको सबै उद्योग बन्द भएका थिए भने नेपाल परनिर्भर बनेको थियो ।

प्रचण्डले त्यही पुरानो घटनालाई लिएर अमेरिका विरोधी आन्दोलनका लागि रसियासँग आर्थिक र राजनीति र भौतिक सहयोग माग गरेको हुनसक्ने कुटनीतिक क्षेत्रका जानकारहरुको भनाई छ । चीन, अमेरिका, उत्तर कोरिया लगायतका देशहरुले अमेरिका विरोध गतिविधिका लागि सहयोग गर्दै आएका छन् ।