थप रहस्यमय बन्दै यसु खतिवडाको मृत्यु, खुल्दैछन् इनम–यसु प्रकरणमा लुकेका रहस्य
कात्तिक २७ गते विहान ५ बजेर ९ मिनेटमा यसु खतिवडा अर्थातको रहस्यमय स्टाटस् फेसबुकमा पोस्ट हुन्छ । स्टाटसमा लेखिएको थियो, ‘आफ्नो अवस्थाका लागि परिवार दोषी नरहेको, इनमको मोबाइलबाट आएको भनिएको म्यासेजलाई षड्यन्त्रको संज्ञा दिएको, बुबा निर्दोष रहेको र आफ्नो आध्यात्मिक साधनाबारे परिवारलाई जानकारी नभएको ।’
त्यसको २ दिन पछि अर्थात कात्तिक २९ गते विहान ५ बजेर ३२ मिनेटमा अर्को स्टाटस लेखे, ‘मेरो गल्तीको सजाय मेरो परिवारलाई नदिनुहोला। म आफूले आफैँलाई सजाय दिनेछु ।’ विहान आफैलाई सजाय दिन्छु भनेका यशु बेलुका मृत भेटिए ।
झापाको कनकाई नगरपालिका–३ स्थित आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको भेन्टिलेसनको रडमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा ४३ वर्षिया यशु मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीका अनुसार प्रहरीले सोमबार बिहान ७ः३५ बजे घटनाबारे जानकारी पाएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।
पोस्टमार्टमपछि सोमबार बिहान ९ बजे उनका काका किसन खतिवडाले शव बुझेर अन्तिम संस्कार गरेका छन् । यशुको मृत्युको कारणबारे प्रहरीले विभिन्न पक्षसँग सोधपुछ गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा परिवार, आफन्त र छिमेकीसँग बुझ्दा उनी केही समयदेखि मानसिक तनावमा रहेको बुझिएको छ ।
यशुको सम्बन्ध काठमाडौं प्रहरी परिसरको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग रहेको दाबीसहितका विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। तर, उक्त विषयमा अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । मृत्युअघि यशुले फेसबुकमा लेखेको स्टाटस पनि प्रहरी अनुसन्धानको मुख्य विषय बनेको छ। प्रहरीले उनको मोबाइल घरबाट बरामद गरेको छ। मोबाइललाई डिजिटल फरेन्सिक ल्याब पठाएर परीक्षण गर्न लागिएको छ ।
यशुको फेसबुक स्टाटस, मोबाइलमा रहेका विवरण र मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि घटनासँग जोडिएका विषयमा थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।
एकातिर चर्चित बिचौलिया इनम सापकोटा, अर्कोतिर यसु खतिवडाको परिवार ! यी दुईबीचको सम्बन्ध आखिर के थियो ? इनम सापकोटाको मोबाइलबाट आएको भनिएको ह्वाट्सएप म्यासेजले यसु खतिवडाको परिवारलाई किन तनावमा पार्यो ? अनि मृत्युअघि यसुले किन सार्वजनिक रूपमा आफ्ना बुवालाई निर्दोष घोषणा गर्नुपर्यो ? अब सबैको नजर प्रहरीको अनुसन्धान र डिजिटल फरेन्सिक रिपोर्टमा छ। किनकि यो घटनामा एउटा परिवारको प्रतिष्ठा मात्र होइन, सत्यको खोजी पनि जोडिएको छ।