सदस्य मैत्री बन्दै इक्यान, करसम्बन्धी अभिमुखिकरण तालिम गर्दै

बिहिबार, २१ कार्तिक २०७६

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पछिल्लो समय आफ्ना सदस्य मैत्री भएर काम गर्न थालेको छ । नयाँ कार्यसमिति चयन भएको केही समय बादविवादमा रुमलिएको इक्यान पछिल्लो समय व्यवसायीहरुको कार्यक्षमता अभिबृद्धिका लागि विभिन्न खालका कार्यक्रम गरेर आफ्ना सदस्यहरुको मन जित्न थालेको छ ।

यसै अन्तरगत इक्यानले कर कार्यलयसँग मिलेर करसम्बन्धी अभिमिुखिकरण तालिम गर्ने भएको छ । इक्यानले यही कार्तिक २४ गते काठमाडौंको होटल हार्दिकमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग अन्तरगतको आन्तरिक राजश्व कार्यलयसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गरि कन्सल्टेन्सी व्यवसायीहरुलाई करसम्बन्धी नयाँ नियमको जानकारी गराउन लागिएको इक्यानले जनाएको छ ।

पुतलीसडक, बागबजार र डिल्लीबजारमा धेरै कन्सल्टेन्सी व्यवसायीहरु रहेकाले इक्यानले आन्तरिक राजश्व कार्यलय पुतलीसडकसँग सहकार्य गरेर अभिमुखिकरण तालिमको आयोजना गरेको इक्यानका महासचिव शेषराज भट्टराईले बताए । व्यवसायीहरुलाई करका नियमहरु र राज्यलाई नियमसम्बत कर तिरेर राज्यप्रति उत्तरदायी बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरु पाण्डेले बताए । यसअघि इक्यानले नयाँ सदस्यहरुलाई व्यवसायीक ज्ञान तथा शिप अभिबृद्धिका लागि तालिमको आयोजना गरेको थियो ।