साढे दश लाख ठग्ने कन्सल्टेन्सी संचालक पक्राउ

बुधबार, ९ पौस २०७६

काठमाडौं – साढे १० लाख ठगी गर्ने एक कन्सल्टेन्सी संचालक पक्राउ परेका छन् । रहना एजुकेशन कन्सल्टेन्सीका संचालक सुमन भन्ने मान बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

साविकको धादिङ कटुन्जे गा.वि स वडा नं ९ घर भई हाल ललितपुरबस्ने पूर्ण बहादुर गुरुङको छोरा वर्ष ४२ को सुमनभन्ने मान बहादुर गुरुङले वैदेशिक रोजगारको सिलसिलामा आफूलाई दश लाख पचास हजार ठगेको भन्दै म्याग्दी जिल्ला मालिका गा.पा. वडा नं ५ घर भई काठमाडौं सामाखुशी बस्ने वर्ष ५० को हुमलाल गुरुङले प्रहरीमा दिएको जाहेरीका आधारमा गुरुङलाई सादा पोसागमा खटिएका प्रहरीले डिल्लीबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउसो ४ बजे गुरुङलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक केदार ढकालले बताए । उनको कन्सल्टेन्सी दर्ता भए नभएको जानकारीमा नआएको ढकालको भनाई छ । उनले जापान, अस्ट्रेलिया लगायतका मुलुकहरुमा पठाउने भन्दै ठगी गर्दै आएको प्रहरीको भनाई छ ।