खास खुलासा : पौडेलको नाममा बालुवाटारको ११ विघा जमिन ! कहाँबाट आयो यत्रो सम्पति ?

बुधबार, २२ माघ २०७६

दमक – झापाको दमकमा ‘बालुवाटार’ नामाकरण गरिएको जग्गाको फाँट छ। रतुवा खोलाले सधैं बगाउने र बालुवा थुपारिरहने भएकाले त्यो फाँटको नाम पञ्चायतकालतिरै ‘बालुवाटार’ राखिएको थियो।

बालुवाटारको यो जग्गा धेरै जनाको नाममा नामसारी गरिएको छ । त्यसमध्य कित्ता नम्बर ७४ को जग्गा पथरी बजारका ओमप्रकाश पौडेलको नाममा ११ विघा जमिन छ । पौडेललाई गगन पुरीले पौडेललाई दुई कठ्ठा दिने सर्तमा पास गराएको प्रहरीले जनाएको छ।

के हो त बास्तविकता हेर्नुहोस् ।

पथरी बजारमा धेरैले ओमप्रकाश पौडेललाई ‘ओम श्रमिक’ भनेर चिन्छन्।

ओम श्रमिक’ अटो रिक्सा लिएर पथरी-शनिश्चरेका चोकमा यात्रुको खोजीमा डुलिरहेको भेटिन्छन्।

को१ह ९६४५ नम्बरको अटो नै पौडेलको अहिलेको पेशा हो। घर चलाउने माध्यम पनि।

दुई छोरालाई पढाइरहेका छन्। घर जसोतसो चले पनि छोराको ‘फि’ तिर्ने पैसा जोहो गर्न उनी रिक्सा लिएर निस्किनैपर्छ।

२०४४ सालमा बाबु-आमा मोतीपुरबाट शनिश्चरे गाविसमा बसाइँ सरे। साबिक ९ नम्बर रहेको उनको घर स्थानीय तह गठन हुँदा पथरी-शनिश्चरे-३ भएको छ।

सानो घर अँटेको जमिनबाहेक उनको देखाउने सम्पति अहिले अटो रिक्सा हो।

कम्युनिस्ट राजनीतिको सानो ओहोदामा रहँदा उनले जीवन चलाउन धेरै श्रम गरे। राजनीतिसँगै श्रम गर्ने हुनाले उनले आफ्नो नामको पछाडि ‘श्रमिक’ राख्न थाले।

उनी कलिलो उमेरदेखि श्रमसँग जोडिँदै आएका छन्। अहिले उनलाई अटो रिक्साले श्रमिकको परिचय दिएको छ।

अटो चलाउन थालेको भने गत असोज महिनादेखि मात्र होतीन लाख रूपैयाँमा ‘सेकेन्डह्याण्ड’ अटो किनेर।

नयाँ किन्नका लागि पर्याप्त पैसा नभएकाले हिम्मत नगरेको पौडेल बताउँछन्। आफूसँग भएको एक लाख र ऋण अरू दुई लाख ऋण खोजेर रिक्सा किनेको उनले बताए।

उनी साउदी अरबबाट भदौमा नेपाल फर्केका हुन्। वैदेशिक रोजगारीको लागि चार वर्ष साउदी अरबमा काम गर्दा मुस्किलले डेढ लाख बचाएका रहेछन्। फर्केपछि गुजारा चलाउने अरू भरपर्दो रोजगारी देखेनन्। त्यही भएर उनले रिक्सा किनेर रोजगारी थाल्ने निधो गरे। पथरी चोकमा दिनहुँ धाउन थाले।

पौडेलका अनुसार राम्रै हुँदा दैनिक दुई हजारसम्म कमाइ हुन्छ। नहुँदा एक हजारमै चित्त पनि बुझाउनुपर्छ।

ठ्याक्कै यति नै भन्ने हुँदैन। यो पेशामा आम्दानी अस्थिर छ भन्ने बुझेरै मैले नयाँ अटो किन्ने हिम्मत गरिनँबैंक-सहकारीमा किस्ता तिर्न नपरोस् भनेर पुरानो रिक्सा किनेँ,’ पौडेल भन्छन्,‘काममा सन्तुष्टै छु त भन्नै पर्‍यो।’

अटो रिक्साको कमाइबाट पारिवारिक सुखमा रमाउँदै गर्दा पौडेललाई मंसिर १५ गते प्रहरीले घरबाटै पक्राउ गर्‍यो।

इलाका प्रहरी कार्यालय पथरीको टोली उनलाई पक्राउ गर्न गएको थियो। पक्राउ गर्नुको खास कारणबारे पौडेल चौकी पुगेपछि पनि स्पष्ट भएनन्। पथरीबाट इलाका प्रहरी कार्यालय दमक लगेपछि मात्र उनले थाहा पाए- दमक बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको रहेछ।

दमक बालुवाटार जग्गाबारे जानकार नै नरहेका पौडेललाई सरकारी छाप दस्तखत कीर्तेमा प्रहरीले अनुसन्धान थाल्यो।

त्यहाँ पुगेपछि मलाई थाहा भयो– यो प्रकरणको मुख्य मान्छे गगन पुरी रहेछन्मैले पुरीसँग संगत गरेर केही गल्ती गरेकी भन्ने लाग्यो,’ पौडेलले भने।

राजनीतिक गतिविधि क्रममा उनले चिनेका साथी हुन् ‘गगन’ भनेर चिनिने रेवतराज पुरी।

जनमोर्चामा काम गर्दा २०६२-२०६३ को जनआन्दोलन अगाडि नै पुरी र पौडेल साथी थिए। पौडेल जनमोर्चा पार्टीको विद्यार्थी संगठन अखिल छेठौंमा केन्द्रीय सदस्य रहँदा पुरी मेची-कोशी संयोजक थिए।

खास हाम्रो राम्ररी चिनजान भएको २०५५-५६ सालतिर हो। घनिष्ठ भएको पनि,’ पौडेलले भने, ‘२०६२-६३ पछि हाम्रो साथसम्पर्क हरायो।’  

दमकको रतुवा किनारमा पुर्ख्यौली जग्गाजमिन ‘थुप्रै’ भएको ठानिन्थे पुरी।

२०६२-६३ पछि जनमोर्चाका कार्यकर्ता कि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी गए कि विस्थापित भए। जनमोर्चाको जिल्ला सचिवसम्म भएका पौडेल भने परिवार पाल्ने चलाउन विदेश गए।

उनी २०६४ सालमा मलेसिया गएका थिए। त्यहाँ उनी मेसिन अपरेटरको काम गर्थे। मलेसियामा खासै तलब थिएन। उनी २०६६ मा घर फर्किए।

पथरीले उनलाई बिर्सिइसकेको थियो। राजनीति उनले छोडिसकेका थिए।

२०६७ सालको कुरा हो। महिना त यकिन गर्न सकेनन् पौडेलले।

दमकमा माओवादीको राजनीतिमा उदाउँदा पात्रको रूपमा पुरी चर्चामा थिए। दमकमा पुरीलाई उछिन्ने माओवादी कार्यकर्ताको नाम आउँदैनथ्यो। पछि उनी दमक नगरपालिकामा माओवादीका तर्फबाट मेयरको उमेद्वारनै बने।

तिनै पुराना साथी ‘गगन’ पौडेललाई खोज्दै आए।

उनले प्रस्ताव राखे: एउटा सानो काम गरौं न।

पौडेलले सोधे: कस्तो?

पुरीले भने: जग्गा हात लाग्छजस्तो छसहयोग गर न।

पौडेलले सोधे: कस्तो जग्गा?

पुरीले भने: दमक रतुवा किनारो ऐलानी जग्गा।

पौडेलले भने: भैगो नगरौं।

पुरीले भने: केही समय लाग्छ सक्सेस हुन। भर्खर त प्रोसेस चलिरहेको छ। तिमीले केही गर्न पर्दैन। दुई कठ्ठा मिलाइदिउँला। सारोगाह्रो केही छैन।

पौडेलले ‘नगरौं’ पनि भने। तरपुरीले करकाप गर्न थालेपछि उनले सोधे, ‘मैले के गर्ने हो?ֹ

पुरीले उनीसँग नागरिकता र फोटो मागे। पौडेलले पुरीलाई विश्वाससाथ दिए।

पुरीले जग्गा दिलाउलान् र उँभो लागिएला भन्ने पौडेलले कति पनि सोचेका भने थिएनन्।

जग्गा आउला र धनी बनिएला भन्ने लागेको भए पछि फेरि विदेश जाने नै थिइनँ,’ उनले भने।

२०६७ सालमा नागरिकता र फोटो दिएपछि पुरी खोजखबर गर्न आएनन्। पौडेलले खोजी पनि गरेनन्।

जेठो छोराले एसएलसी पास गरेर पढ्ने बेला भयो। पढाउन आम्दानीको स्रोत भएन।

पौडेल २०७३ सालमा साउदी अरब उडे। छोराको इन्जिनियरिङ पढ्ने इच्छा थियो।

धरानस्थित इन्जिनियरिङ कलेजमा भर्ना गराए। जेठो छोरा अहिले डिप्लोमा इन्जिनियरिङ गर्दैछन्। ७ कक्षामा कान्छो छोरालाई बोर्डिङमै पढाइरहेका छन्।  

साउदीको दबामस्थित पानीजहाज पोर्टमा उनी काम गर्थे। महिनाको तीस हजार नेपाली बच्थ्यो। घर खर्च र छोराको पढाइ धान्थ्यो।

चार वर्ष साउदी बसे। तरघरखर्च गरेर एक रूपैयाँ बचाउन सकेनन्। घर फर्किन मन लाग्यो।

फर्किने बेला कम्पनीले चार महिनाको बोनस दिएको थियो।

त्यही पैसा लिएर नेपाल फर्केका पौडेलले थपथाप गरेर पुरानो रिक्सा किनेका थिए।

असोज र कात्तिकका दुई महिना त आनन्दले रिक्सा चलाइरहेका थिए।

अटो चलाउन थालेको तेस्रो महिनामै उनी पक्राउ परे। यसपछि उनको परिचय ‘श्रमिक’ मात्रमा सीमित नभएर बालुवाटार जग्गा घोटालाका आरोपी बनेको छ।

बयान सुरू हुँदा उनी छक्क परे। आफ्नो नाममा पुरीले ११ बिगाहा जग्गा राखेको थाहा पाए।

न म जग्गा किन्न सरकारी कार्यालय छिरेको छुन मैले हस्ताक्षर गरेको छु। न फिल्डबुक न आफ्नो नामको लालपूर्जा हातमा छ। म कसरी ११-११ बिगाहा जग्गाको मालिक भएँ?,’ उनी आश्चर्य मान्दै भन्छन्, ‘गगनले के-के चलखेल गरे भन्ने पनि थाहा नै भएनअर्बौंको जग्गासँग पुरीको नाम जोडिएर समाचार आउँदा पो छक्क पर्छु।’

नागरिकता र फोटो लिएर गएका पुरी आफैंले पौडेलको हस्ताक्षर र ल्याप्चे कीर्ते गराइदिएछन्। पौडेलको नाममा रहेको जग्गा नामसारी गरेर बेचबिखनको परिपञ्च चलिरहँदा बालुवाटार जग्गा छानबिनमा तानिएर पुरी दमकबाट हराएका छन्। पुरी अहिले प्रहरी सूचीमा फरार छन्।

मनले नमान्दा नमान्दै नागरिकता र फोटो दिएँअदालतले त प्रमाण हेर्ने न हो। त्यही कुरा पक्डियो,’ पौडेल भन्छन्, ‘धरौटी माग्यो।’

एकातिर अटो रिक्सा किनेको ऋण तिर्न छँदैछ। अदालतले एक लाख ८० हजार धरौटी मागेपछि अर्को ऋण थपिएर अहिले पौडेल ऋणैऋणले थिचिएका छन्।

ऋण जुटाएर उनी छुट्न त छुटे। माथिल्लो अदालतले जिल्ला अदालत झापाको निर्णय बदली गरिदियो भने पौडेल थुनामा पुग्नेछन्। यही भयले पनि उनी दिनरात ढुक्कले सुत्न सकेका छैनन्।

यही ऋण कसरी तिर्नु भएको छ। बेचबिखन गर्ने केही छैन। छोराले जागिर खाने बेला भएको छैन,’ उनी भन्छन्, ‘म नराम्रोसँग फसें।’

पुस ६ गते छुटेपछि उनी पुन: काममा त फर्केका छन्। घर खर्चबाहेक इन्जिनियरिङ पढ्ने छोरालाई महिनाको पन्ध्र हजार पैसा जुटाउन मुस्किल परिरहेको छ। कान्छोलाई बोर्डिङबाट निकाल्न उनको मन मान्दैन।

दमक बालुवाटार जग्गामा जोडिएपछि उनलाई डरत्रास पनि छ। उनले खुलेर घटनाक्रम सुनाउन पनि सकिरहेका छैनन्।

परिस्थितिवश: विश्वास गरेका मान्छेले फसाए। उनी कहाँ छन्के कस्तो अवस्थामा छन्। यो उनैले समाधान गर्ने हो,’ उनले भने, ‘मैले बयान हुँदा पनि यिनै कुरा भनेको छु।’

जनमोर्चाको राजनीतिमा सँगै झोला बोकेर हिँड्ने पुरीले आफ्नो जीवन कायापलट गर्दै यत्रो जग्गा घोटालाको तानाबाना बनाएको पौडेलले पत्तै पाएनन्। ‘यति ठूलो क्षेत्रफलमा छ भन्ने कसले सोचेको थियो र?,’ उनले भने।

पुरीको जालझेलको आयाम उनी अहिले थाहा पाउँदै छन्।

उनले भैरब अर्यालको एउटा कविताको दुई लाइन सुनाए।

चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न

दंगा फसाद नगरी इज्जत रहन्न

पुरीले जीवन त्यस्तै बनाएछन्,’ पौडेल मुसुक्क हाँसे।

सात-आठ कक्षामा मोतीपुरमा बस्दै उनी अगरबत्ती फ्याक्ट्रीमा काम गर्थे। पछि महेन्द्र मोरङ क्याम्पसमा आइए पढ्दा प्रिन्टिङ प्रेसमा काम गर्थे।

राजनीतिमा पूर्णकालीन हुँदा उनले काठमाडौंमा शिक्षण पनि गरेका थिए। पछि घर फर्केपछि ज्यामी भएर पनि काम गरे।

जीवनमा के नै गरिएन होला,’ उनी आफ्नोबारे भन्छन्।

पढाइ खर्च जुटाउन प्रिन्टिङ प्रेसमा काम गर्ने श्रमिकघर जुटाउन मलेसिया-अरब पुग्ने श्रमिकछोराको इन्जिनियरिङ सपना साकार पार्न अटो चलाउने श्रमिकलाई पहिलो सुनुवाइमा अदालतले निर्दोष मान्न नसकिने ठहर गरेर धरौटी मागेको छ।

भोलि अर्को अदालतले बालुवाटार जग्गा घोटाला दोषी भनेर जेलनै पठाउन सक्छ।

अदालतले मलाई न्याय गर्ला नगर्लात्यो अदालतकै जिम्मामा भयो,’ उनले भने, ‘मैले गरेको कसुर के हो राम्ररी अनुसन्धान होस्।’

पुरीको दमकमा अनपेक्षित उदय छ। बालुवाटार घोटालाको तानावानाको बदलिँदो घटनाक्रम छ। पुरीको जालझेलमा पौडेलजस्ता सामान्य मानिसहरू तानिएका छन्।

नेकपा अध्यक्ष प्रचण्डनिकट पुरी पहुँच भएका मानिन्छन्। उनी पूर्वमाओवादीको तर्फबाट दमक नगरको चुनावमा मेयरका उमेद्वार थिए। अहिले नेकपा १ नम्बर प्रदेश कमिटीका सदस्य छन्।

पहुँचकै आत्मविश्वासले हुनुपर्छपुरीका परिवारले भन्ने गरेका छन्- हामी फसे तिमीहरूलाई छोड्दैनौं।

पुरीसँग त कुराकानी भएको छैन। परिवारसँग यदाकदा हुन्छ। हामीले बोल्दा उनीहरूलाई अफ्ठेरो हुन्छ भन्ठानेर परिवारले डर देखाउँछन्,’ पौडेल आफ्ना निकटस्थसँग भन्ने पनि गरेका छन्।

दमक बालुवाटार घोटालामा पौडेलको नाममा बाहेक पुरी एक्लैको १५ बिगाहा जग्गा फेला परेको छ। अनुसन्धानअनुसार पुरीले त्यहाँको ५० बिगाहा जग्गा आफ्नो नाममा ल्याएका छन्। मालपोत र नापी कर्मचारीसँगको मिलेमतोमा ल्याइएको सो जग्गामध्ये पुरीले पौडेलजस्तै विभिन्न व्यक्तिका नाममा जालसाँजी गराएर पास गराएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा देखिइसकेको छ।

ब्युरोले अनुसन्धान प्रतिवेदन मुद्दा चलाउने प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएपछि दमक बालुवाटार जग्गा प्रकरण बाहिर आएको हो। इलाका प्रहरी कार्यालय दमकले पुरीसहित उनका आफन्तमालपोत कर्मचारीनगरपालिका कर्मचारीलगायत व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ।

दमक नगरपालिका कर्मचारीका अनुसार यो जग्गा कार्यान्वयन सिलसिलामा २०७१ सालमा पुरीको सक्रियता देखिन्छ। उनी २०७१ फागुनमा जोतभोगको निवेदन लिएर दमक नगरपालिका पुगेका थिए।

त्यतिबेला कार्यकारी अधिकृत युवराज दाहाल थिए। स्थानीय जनप्रतिनिधि नभएको बेलामा आफ्नो नाममा जग्गा रहेको भन्दै कार्यान्वयनको अधिकार नगरपालिकासँग मागे।

धनीपूर्जामालपोतको सम्पत्ति कर तिरेको रसिदसमेत लिएर आएका थिए,’ एक कर्मचारीले भने, ‘हामीलाई हाकिमले सर्जिमिन गरेर कार्यान्वयन आदेश दिन भनेहामीले त्यही गर्‍यौं।’

यो प्रकरणमा दमक नगरपालिकाका दुई कर्मचारी दलबहादुर खत्री र मोहन ओली पनि पक्राउ परेका थिए। ओली ७५ र खत्री ८० हजार धरौटीमा छुटेका छन्।

पुरीले देखाएका कागजातका आधारमा हामीले भोगाधिकारको सिफारिस गर्‍यौंउनले मालपोतको ढड्डै परिवर्तन गरेर ऐलानी जग्गा मिसाएका रहेछन्मालपोतले प्रमाणित गरेका कागजात हेरेर निर्णय लियौं,’ दलबहादुरले भने, ‘एकैचोटि छानबिन भएर हामी मतियारको रूपमा खोरमा गयौं। अड्डाले काम गर्न खटाएर गएका हामी कसरी दोषी?’  सेतोपाटी बाट