२५ जना उद्योगी–व्यवसायी सीआईपीबाट सम्मानित हुने

बिहिबार, २३ माघ २०७६

काठमाडौं – सरकारले २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान गर्ने भएको छ । सीआईपी सम्मान चार वर्षदेखि रोकिएको थियो । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका निर्यातकर्ता, लगानीकर्ता, रोजगारदाताहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको निर्णय अनुसार व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले सम्मान गर्न लागेको हो ।

आर्थिक वर्ष २०७४–७५ को योगदानलाई आधार मानेर यो सम्मान दिन लागिएको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए । केन्द्रले १३ वटा विधामा यो सम्मान दिन लागेको हो । सम्मान पाउनेहरुमा पवनकुमार गोल्याण, चन्द्रप्रसाद ढकाल, निर्वाच चौधरी, भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिश कुमार मोरसहित रामचन्द्र संघईलगायत छन् ।

तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा धागोतर्फ रामचन्द्र संघई, ऊनी गलैचातर्फ दोर्जे ग्याल्सेन लामा, तयारी पोशाकतर्फ राहुल मान शाक्य, पश्मिना सलतर्फ सूर्य कुमार गुरुङ्ग र उनी फेल्ट उत्पादनतर्फ एभरेष्ट फेशन रहेका छन् ।

भारततर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट डाबर नेपालका हरकिरत सिंह बेदी, दिब्यराज सापकोटा, युक्ती गोल्छा रहेका छन् । यस्तै चीनतर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे छन् ।

कृषिजन्यतर्फ सुजन कुमार श्रेष्ठ, निर्वाणकुमार चौधरी, निर्यात व्यापारतर्फ राजलक्ष्मी गोल्छा, सफ्टवेयर निर्यातमा दीपेश प्रधान रहेका छन् । उद्योग स्थापना भई संचालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमुलक उद्योगतर्फ लीऊ शु कुवाङ छन् । उनी होङ्शी सिमेन्टका प्रबन्ध निर्देशक हुन् ।

सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्यागी व्यवसायीतर्फबाट पवनकुमार गोल्याण छन् भने बैकिङ्ग प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी–व्यवसायीबाट चन्द्रप्रसाद ढकाल छन् । उनी आइएमईका अध्यक्ष हुन् ।

यस्तै पर्यटन क्षेबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट सुरेश लाल श्रेष्ठ छन् । उनी तारागाउँ रिजेन्सी (ह्यात) होटलका कार्यकारी संचालक हुन् । युवा उद्यमीतर्फ महिलाबाट सुनिता शेर्पा र पुरुषबाट अक्षय गोल्याण रहेका छन् ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएका संघका अध्यक्षहरुमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रााणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर रहेका छन् ।

सीआईपीबाट सम्मानित हुने उद्योगी व्यवसायीलाई आगामी माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान प्रदान गर्ने कार्यकारी निर्देशक राणाले बताए ।