लसुनको मूल्य तीन गुणा बढ्यो
काठमाडौँ-पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो ।
चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मर्निभर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।चीनसँग सीमा जोडिएको रसुवागढी (केरुङ) र तातोपानी (खासा) नाका बन्द भएकाले विगत एक सातादेखि लसुनको आयातमा कमी आएको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । राजधानी दैनिक खबर छापेको छ ।