चीनबाट विद्यार्थी ल्याउन अझै एक हप्ता लाग्ने

बिहिबार, २३ माघ २०७६

काठमाडौँ — नोवेल कोरोना भाइरसको संक्रमण भएको चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्दार गरेर नेपाल ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उपप्रधानमन्त्री, मन्त्री, सचिव एवं सुरक्षा निकायका प्रमुखसहितको बैठकमा विद्यार्थी ल्याएर राख्ने स्थानमा भौतिक पूर्वाधारहरु तयार गर्न एक साता लाग्ने ब्रिफिङ भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव नारायणप्रसदा विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा विद्यार्थी राख्ने स्थान (क्वारेन्टाइन) को टुंगो लगाइ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न झन्डै एक साता लाग्ने उल्लेख गरिएको छ। भौतिक पूर्वाधार र अन्य तयारीहरु गर्न एक हप्ता समय लाग्नसक्ने ब्रिफिङ भएको छ,प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने कहाँ राख्ने भन्ने टुंगो नलागी अन्य पूर्वाधार खडा गर्न समय लाग्ने भएको हो।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरी, खरिपाटी, इचंगुनारायण र सूर्यविनायक चार स्थानमा विद्यार्थीलाई राख्न पनि निर्देशन दिएका छन्। प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीले चारै स्थानलाई तयार राख्न निर्देशन दिएकोबताए।यसअघि मुख्यसचिव सहित सुरक्षा निकायका प्रमुखको बैठकले भक्तपुरको खरिपाटीमा विद्यार्थीलाई राख्ने निर्णय गरेको भएपनि स्थायनीयको विरोधपछि अन्तिम निर्णय लिइएको थिएन।

सरकारले चीनको हुबेइ प्रान्त तथा कोरोना संक्रमणको केन्द्रमा रहेको वुहान सहरबाट नेपाल फर्किन इच्छुक विद्यार्थीको उद्धार गर्ने बताएपछि १ सय ८० जना विद्यार्थीले फर्किन निवेदन फर्म भरेका छन् । उनीहरुमा कोरोना संक्रमण भए नभएको पत्ता नलागिञ्जेल १४ दिन आइसोलेसनु मा राख्ने स्थान सरकारले तय गर्न सकिरहेको छैन ।