खुसीयाली मनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

शुक्रबार, २४ माघ २०७६

काठमाडौं– महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन् ।

ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकार’का मानिसहरू भनेको बीबीसीले जनाएको छ । झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ ‘विजय उत्सव’ भनेका थिए ।

‘मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु । तर यो अन्तिम नतिजा हो,’ ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने । ‘हामीहरूले अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो । हामीले केही गलत गरेका थिएनौँ ।’

ह्वाइट हाउसमा उनले भनेः ‘त्यो दुष्टता थियो, त्यो बेइमानी थियो ।’ रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् ट्रम्पले शक्तिको दुरूपयोग र अमेरिकी संसद्लाई अवरुद्ध तुल्याएको अभियोगमा सफाइ पाएका थिए ।

तर महाभियोग सुनुवाइका क्रममा त्यहाँ साक्षी र थप प्रमाण झिकाउने माग भने पूरा भएको थिएन । जसलाई सिनेटमा डेमोक्र्याटहरूका नेता चक सुमरले ट्रम्पको महाभियोगलाई वाटरगेट प्रकरण यताकै सबैभन्दा ठूलो झूटको संज्ञा दिए ।

अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन् । सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो ।