घण्टाघरमा एक व्यक्ति मृत फेला

शुक्रबार, २४ माघ २०७६

काठमाडौँ – वीरगञ्जको घण्टाघरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित खाली रहेको जग्गामा रहेको प्रतिक्षालयमा शव फेला परेको प्रहरीले जनाएको छ ।

लड्डु साह कानु नामले चिनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । शवसँगै बसिरहेका मृतकको छोरी बताउने ८ वर्षीया आरती कुमारी र १० वर्षीया सरस्वति कुमारीसँग सोधपुछ गर्दा आफूहरु बुवासँगै मागी खाई गुजारा चलाईरहेको तथा आमाको केही वर्ष अगाडि मृत्यु भएको भनि बताएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

दुवै बालिकाहरुलाई पालन पोषण तथा संरक्षण गर्ने कोही नभएकोले उनीहरुको संरक्षणको लागि बाल हेल्प लाईन वीरगञ्जमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।