प्रदर्शनमा संलग्न नेता–कार्यकर्ता पक्राउ
काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जोगाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई जोगाएको विरोधमा अख्तियारको केन्द्रीय कार्यालय अगाडि सिठी जुलुस प्रदर्शनमा उत्रिएका साझा पार्टीका १३ नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले सुरु गरेको राम्रो कामको स्वागत गर्दै अख्तियार प्रमुख नवीन घिमिरेलाई ‘गुलाफको फूल’ उपहार दिन र सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागु गरिएको ‘एक देश, दुई कानुन’ को विरोध गर्न गएका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको पुष्टि गरेका छन् ।
उनका अनुसार प्रहरीले प्रदर्शनमा उत्रिएका साझा पार्टीको वाग्मती प्रदेश संयोजक समीक्षा बास्कोटा, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, शरदराज पाठक, नारायण कोइराला, अब्दुस मियाँ, सूर्यदीप रेग्मी, पवन थापा मगर, रोशन बस्नेत, प्रदीप थापा, सुरज प्रधान, सुप्रभा श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले बताए ।