८८ वटा विद्यालय दुई महिनापछि सञ्चालनमा
डोल्पा – अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन् । गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन् ।
तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका तथा काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकामा रहेका ८८ वटा विद्यालय सञ्चालनमा आएका हुन् । मंसिर दोस्रो सातादेखिनै हिमपात सुरु भई अत्यधिक चिसो बढ्ने हुँदा यस क्षेत्रका सोही बेला वार्षिक परीक्षा गरिन्छ । त्यस बेला बन्द रहेका विद्यालयहरु पुस र माघमा पठनपाठन बन्द हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जानकारी दिएको छ ।
फागुन १ देखि विद्यालय खुले पनि जिल्लाबाहिर घर रहेका शिक्षकहरु र हिउँदे बिदामा अभिभावकसँग सहर पुगेका विद्यार्थीहरु पहिलो साता मात्र विद्यालय पुग्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
तल्लो डोल्पामा रहेका तीन स्थानीय तहमा रहेका सम्पूर्ण विद्यालयहरु अझै पनि खुलेका छैनन् । डोल्पो बुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा रहेका २४ वटा विद्यालयहरु गत कात्तिकदेखिनै बन्द भएका हुन् ।
प्रत्येक वर्ष कात्तिक अन्तिममा बन्द भएका विद्यालयहरु छ महिनापछि वैशाखमा मात्र खुल्ने गर्छन् । यस समयमा अत्यधिक हिमपात हुने र चिसोले बस्न नसकिने भएकाले स्थानीयसहित घरमा ताल्चा मारेर चिसो छल्न बेंशी झर्ने गर्दछन् । डोल्पामा १ सय १२ वटा विद्यालय रहेका छन् ।