तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिन परीक्षण गरिँदै

सोमबार, १९ फाल्गुन २०७६

दोलखा – राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण गरिने भएको छ ।

आयोजनाको बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई फागुन मसान्तमै परीक्षण गरिने भएको हो । भूकम्प आउनुअघि र पछि गरी १७ इन्च भासिएको बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरेपछि बाँधको पहिलोपटक परीक्षण गर्न लागिएको हो । ६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध तथा दुई सय मिटर लम्बाइको डिस्यान्डर बेसिन परीक्षण गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए ।

अर्को सातासम्म आवश्यक प्राविधिक कार्य सम्पन्न गरी फागुन मसान्तमै बाँधमा पानी जमाएर तथा डिस्यान्डर बेसिनमा सो पानी पठाई परीक्षण गरिने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाको कठिनमध्ये मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम भइरहेको उनको भनाइ छ । फागुन १६ गतेसम्म ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २३० मिटर तथा ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १४० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको उनले बताए । तल्लो ठाडो सुरुङमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । कुल ६८३ मिटरको ठाडो सुरुङमा फागुन १६ गतेसम्म ३७० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ ।

पेनस्टक जडानको क्रम बढ्दै जाँदा जडानको समयावधि कम लाग्ने तथा कंक्रिटिङको काम पनि तुलनात्मक रूपमा सहज हुने हुनाले जडानको गति बढ्दै जाने प्रवक्ता न्यौपानेले विश्वास व्यक्त गरे । अहिलेकै गति कायम रहे वैशाख मसान्तभित्र दुवै ठाडो सुरुङमा पेनस्टक जडान सकिने अनुमान गरिएको छ । ठाडो सुरुङको काम सकिएपछि प्लगिनलगायत काम र अन्य संरचनाको प्राविधिक परीक्षणको काम सम्पन्न गरी असार मसान्तसम्म परीक्षण विद्युत् उत्पादन सुरु गरिने प्रवक्ता न्यौपानेको दाबी छ ।

आयोजनाको पावरहाउस, हेडबक्स, प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ । आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको जनाएको छ ।