जुद्ध शमशेरको नासोमा रहेको जुद्ध भवन भत्काइने

सोमबार, १९ फाल्गुन २०७६

काठमाडौं – राणाकालीन प्रधानमन्त्री जुद्ध शमशेरको नासोका रूपमा छ, जुद्ध वारुणयन्त्रको भवन । २०७२ सालको भूकम्पमा चर्किएको यो भवन पुरातत्वविदले पुनर्निर्माण गर्न नपर्ने भन्दै आएका छन् । काठमाडौं महानगरपालिका भने यसलाई भत्काएर नयाँ संरचना बनाउन लागिपरेको छ ।

यो संरचना विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार परिसरमा छ । यो भवन जीर्ण भएकाले भत्काएर नयाँ बनाउन उपयुक्त हुने महानगरपालिकाले जनाएको छ । उसले आर्थिक वर्ष २०७६/७७ मा नयाँ भवन निर्माण स्वीकृतिका लागि पुरातत्व विभागमा पटक–पटक पत्राचार गरेको देखिन्छ ।

विभागले भदौ १ गते सार्वजनिक स्मारकका रूपमा रहेको जुद्ध भवन निर्माणमा निजी घरमा लागू हुने मापदण्ड नमिल्ने भन्दै साबिककै मापदण्डका आधारमा जीर्णोद्धार गर्न जवाफ दिएको थियो । महानगरले गत माघ २१ मा गरेको पत्राचारमा उक्त भवन जीर्णोद्धार वा सबलीकरण नभई पुनर्निर्माण गर्न लागेको पुनः प्रस्ट्याएको छ ।

महानगरले गत मंसिर ९ गते पनि विभागमा पत्राचार गरेको थियो । क्षतिग्रस्त भवन भत्काई हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको कार्यालय, पर्यटकका लागि सुविधासम्पन्न शौचालय, पर्यटक सूचना केन्द्र, सभाहल तथा भौतिक सुविधासम्पन्न दमकल भवन बनाउन महानगरले स्वीकृति मागेको थियो । कर्मचारीको आवास निर्माण गर्न पनि उसले विभागसँग स्वीकृति मागेको थियो । विभागले माघ १३ गते परम्परागत निर्माण सामग्री प्रयोग गरी जीर्णोद्धार वा सबलीकरण मात्र गर्न भनेको थियो ।

महानगरले नयाँ र पुरानो शैलीको मि श्रण (नियो क्लासिकल) ढाँचामा तीन तलाको भवन बनाउन प्रस्ताव गरेको छ । भुइँ तलामा पाँचवटा दमकल राख्न मिल्ने डिजाइन बनाइएको छ। पुरानो दमकल प्रदर्शनीमा राख्न ठाउँ छुट्याइएको छ । दोस्रो तलामा १ सय २० सिटको सभाहल र २० जना अट्ने मिटिङ रुम हुनेछ । सभाहलमा कर्मचारीलाई तालिम तथा सेमिनारको व्यवस्था गरिनेछ । कर्मचारीको सुत्ने कोठा पहिलो र दोस्रो तलामा हुने महानगरले जनाएको छ । यसका लागि महानगरले १० करोड बजेट खर्चने योजना बनाएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल पुरातत्व विभागसँग पुनर्निर्माणका लागि स्वीकृति मागिएको बताउँछन् । ‘जुन डिजाइन स्वीकृत हुन्छ त्यसलाई अगाडि बढाइनेछ’, उनी भन्छन् ।

पुरातत्वविद काइ वाइजे भने अहिलेको भवनलाई मर्मत र रंगरोगन गरे पुग्ने बताउँछन् । ‘भवनको माथिल्लो तलाको एक छेउमा क्षति पुगेको छ’, उनी भन्छन्, ‘यसलाई मर्मत गरी रंगरोगन मात्र गरे पुग्छ । भत्काएर नयाँ बनाउन आवश्यक छैन ।’

वारुणयन्त्रका कर्मचारी पनि भवन भत्काउने पक्षमा छैनन् । दमकल चालक राजेन्द्रबहादुर श्रेष्ठ २३ वर्षदेखि यही भवनमा बस्दै आएका छन् । भूकम्पपछि पनि उनी यहीं सुत्छन् । ‘वर्षौदेखि यही भवनमा बस्दै आएको छु’, उनी भन्छन्, ‘चर्किएका भित्ता मर्मत गरे पुग्छ । भत्काएर नयाँ बनाउन आवश्यक छैन ।’

सहरमा हुने आगलागी नियन्त्रण गर्न जुद्ध शमशेरले आफ्नै नाममा पहिलो पटक दमकल सेवाको सुरुआत गरेका थिए ।