८ जना चिनियाँ नागरिक पक्राउ

मंगलबार, २० फाल्गुन २०७६

गोरखा – केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालिका ३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सोमवार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताए । उक्त समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।