थरुहटको बन्दको कारण दोस्रो दिन पनि दाङ ठप्प
काठमाडौँ- थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दको प्रभाव बुधबार पनि दाङमा बिहानैदेखि परेको छ। मोर्चाको बन्दका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प छन्।कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनालाई कारागारबाट बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार मोर्चाले बन्दको आह्वान गरेको छ।दुई दिने बन्द बुधबार बेलुका ५ बजेपछि सकिने मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले सेतोपाटीलाई जानकारी दिए।सांसद चौधरीसहितका ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन आफूहरूले दुई दिने बन्द आह्वान गर्नु परेको संयोजक चौधरीले बताए।गत माघमा थारुहरुको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले पनि सांसद चौधरीलाई छिट्टै रिहा गरिने बताएका थिए।त्यसपछि थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु त्यही मागसहित दाङ आएर चौधरी समुदायलाई आन्दोलनमा होमिन अपिल गरेका थिए।दाङमा पत्रकारसँगका भेटघाटमा उनले त्यो माग नभए फागुन १ गतेदेखि आन्दोलन चर्काउनले चेतावनी दिएका थिए। सांसद चौधरीको रिहाइलगायत विभिन्न १२ बुँदे माग राख्दै उनी यो बीचमा घटनास्थल कैलालीमा अनसन समेत बसे।
तैपनि सरकारले उनीहरूको माग पूरा गर्न कुनै तत्परता नदेखाएको भन्दै फागुन १७ गते मोर्चाका केन्द्रीय संयोजन समितिका महासचिव तुलसी थारुले प्रेस विज्ञप्ति मार्फत् दुईदिने आमहड्तालको आह्वान गरेका थिए।
लक्ष्मण थारुले गत माग महिनामा दाङमा आएर टिकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न,पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा सर्वदलीय संसदीय समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका थिए।प्रहरी उच्च अधिकारीसहित एक नावालक समेतको हत्या भएको कैलाली घटना पछि प्रहरी प्रशासनले छानिछानी थारुका घर जलाएको, सम्पत्ति लुटपाट गरेको, महिलामाथि यौनदुर्व्यवहार गरेको हुँदा त्यसको न्यायिक छानबिन हुनुपर्ने माग केन्द्रीय संयोजक थारुले गरेका थिए।तर पछिल्लो समय थरुहटले छलफलपछि थप दुइटा माग थपेर १४ बुँदे माग प्रस्तुत गरेको छ।उसका थपिएका नयाँ मागमा दाङलाई प्रदेश नं। ५ को राजधानी तोकिनुपर्ने र बाँके, बर्दियालाई प्रदेश नं। ६ मा मिलाउन नहुने कुरा रहेका छन्।
मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले थारु पहिचान भएका जिल्ला एउटै प्रदेशमा राख्नुपर्ने र त्यो अलग गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने जिकिर गरे।‘थारु पहिचना भएका बाँके, बर्दियालाई छुट्टै प्रदेशमा राखेर थारु माथि षडयन्त्र गर्न खोजिएको छ,’ चौधरीले भने, ‘हामीलाई त्यो कदापी मान्ने हुनेछैन।’उनले प्रदेश नं। ५ को केन्द्र भाग दाङ नै भएको भन्दै प्रदेश राजधानी दाङ बनाउनुपर्ने उनले जिकिर गरे।थरुहटको आमहडताललाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघसंस्थाले ऐक्यबद्धता रहेको चौधरीले जानकारी दिए।