प्रहरी टोलीले जबर्जस्ती फोड्यो ताला

बिहिबार, २२ फाल्गुन २०७६

काठमाडौं–सिनामंगलस्थित पवितादेवी अर्यालको घरलाई हतियारसहितका केही अपरिचितले अचानक घेरा हालेर जबर्जस्ती भित्र प्रवेश गरे । बन्द कोठाको ताल्चा फोरे । अनि खानतलासी लिन सुरु गरे  । अर्याल अवरोधमा उत्रिएपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो ।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार विनाकारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गरिन् ।

तर, गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नखटिएको जानकारी पाएपछि अर्याल झन् आश्चर्यमा परिन्  । घटनास्थल निरीक्षणका लागि गौशाला वृत्तबाट प्रहरी टोली पुग्यो  । अनि पत्ता लाग्यो– खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन् ।

सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ । तर, स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो ? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो  ।

अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा पाँचजना प्रहरी टोली खटायो । टोलीले निष्कर्ष निकाल्यो– खानतलासीमा खटिएका प्रहरी टोली व्यक्तिगत स्वार्थबाट प्रेरित भई अर्यालको घरमा पुगेका थिए ।

उनीहरूले स्वयम्भू वृत्त प्रमुख डिएसपी लालध्वज सुवेदीलाई समेत गुमराहमा राखेका थिए  । घटनामा संलग्न वृत्तका तीन सइ र तीन प्रहरी जवानलाई कारबाही भइसकेको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट एक लुटेरालाई रंगेहात पक्राउ गर्‍यो  । वृत्त कार्यालय लगेपछि उसको शरीर खनतलासी भयो  । यसक्रममा पर्सबाट १० हजार रुपैयाँ बरामद भयो  । खल्तीमा लुटिएको सुन पनि फेला पर्‍यो  । मुचुल्का उठाउन वृत्तका एक हवल्दार र प्रहरी जवान खटिए ।

मुद्दा अघि बढेर जब जिल्ला प्रशासन कार्यालय पुग्यो, त्यसपछि पो थाहा भयो– लुटेराबाट बरामद १० हजार रुपैयाँ त दसी प्रमाणबाटै गायब छ । मुचुल्का उठाउने हवल्दार र प्रहरी जवानले लुटेराबाट बरामदमध्ये सुनको मात्रै मुचुल्का उठाएको अनुसन्धानपछि खुल्यो  । बरामद १० हजार दुईजनाले बाँडेर लिएका रहेछन् । उनीहरुमाथि पनि कारबाही भयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट गठित ‘परफर्मेन्स अडिट टिम’ले मातहतका प्रहरी कार्यालय अनुगमनपछि आचरणविपरीत गतिविधिमा संलग्न प्रहरी कर्मचारीविरुद्ध गरेको कारबाहीका केही उदाहरण हुन् यी ।

२२ पुसबाट परिचालित टिमले दुई महिनाको अवधिमा आचरणविपरीतका गतिविधिमा संलग्न ६५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाही गरिनेमा डिएसपीदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन्  । जसमध्ये चार सइ, एक हवल्दार र चार प्रहरी जवानसहित नौजनालाई नसिहत दिइएको छ ।

डिएसपीसहित विभिन्न तहका १८ जना प्रहरी कर्मचारीलाई चेतावनी दिइएको छ । ड्युटीमा नखटिएका ३२ प्रहरी कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गरिएको छ । ड्युटी आवरमै मादक पदार्थ सेवन गर्ने विभिन्न तहका ६ जना प्रहरी कर्मचारीलाई रिह्याबिटेसन सेन्टरमा पठाइएको छ।