वन्यजन्तुको संरक्षण कार्यमा चुनौती

शुक्रबार, २३ फाल्गुन २०७६

काठमाडौं–मुलुकको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रभित्र बढ्दै गएको प्रकृतिक स्रोत माथिकोे मानवीय चापका कारण वन्यजन्तुको संरक्षण कार्य चुनौतीपूर्ण देखिएको संसदीय समितिको अध्ययनले देखाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको अध्ययनले प्रकृतिक स्रोत माथिकोे बढ्दो मानवीय चापका कारण वन्यजन्तुको संरक्षण कार्य चुनौतीपूर्ण रहेको देखाएको हो । समितिले बाँके, वर्दिया, शुक्लाफाँटा, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको भ्रमण गरी तयार पारेको मस्यौदा प्रतिवेदन अनुसार संरक्षित क्षेत्रको सिमाना भित्र बस्ती र जग्गा अतिक्रमण भएको पाइएको छ ।

वातावराणमैत्री पूर्वाधार विकास नहुनु, नदी जन्य सामग्रीको अवैध प्रयोग तथा संरक्षित क्षेत्र बीचमा जैविक मार्ग सहज नहुनुलगायतका कारण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रभित्र समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । बिहीबार समितिमा प्रतिवेदनमाथि भएको छलफलमा समितिकी सभापति पूर्णकुमारी सुवेदीले विद्यमान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सम्बन्धी ऐन स्पष्ट नभएकाले समस्या उत्पन्न भएको बताइन् । उनले ऐन परिमार्जन गर्ने विषयमा विभागिय मन्त्रीसँग थप छलफल गरी निर्देशन दिनुपर्ने पनि बताइन् । “विद्यमान कानुनमा धेरै जटिलताहरु देखिएका छन् ।” उनले भनिन्, “मन्त्रीज्यूसँग पनि एक पटक छलफल गरेर अघि बढ्छौं ।”

बैठकमा समितिका सदस्य राधाकुमारी ज्ञवालीले नेपालले वतावराण संरक्षण गरे वापत अन्तर्राष्ट्रिय निकायहबाट पाउनु पर्ने सहयोग अपुग भएको भन्दै थप गर्न माग गरिन् ।

तराईको भू–भागका राष्ट्रिय निकुञ्जभित्र बनाइएका राजमार्गहरूमा सवारी साधनको चाप बढ्न थालेका कारण विश्वमा संकटको सूचीमा राखिएको दुर्लभ वन्यजन्तुको संरक्षण कार्य झनै चुनौतीपूर्ण बनेको छ । पूर्व–पश्चिम राजमार्ग र अन्य सडकहरूमा बढ्दो सवारी चापका कारण मध्य नेपालको पर्सा र चितवनदेखि पश्चिमका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपर विचरण गर्ने दुर्लभ वन्यजन्तु बढ्दो रूपमा जोखिममा पर्न थालिको छ ।