‘कोरोनाको त्रासले मासुको व्यापार ठप्प’
काठमाडौँ -रङहरुको पर्व होली नजिकिँदै छ। होलीमा एक अर्कालाई रंग लगाउनुका साथै हरेक घरमा माछामासु लगायतका परिकारहरु बनाउने गरिन्छ। तर यसपटक भने कोरोनाको हल्लाले माछामासुको व्यवसाय ठप्प भएको व्यवसायीहरु बताउँछन्।महोत्तरीको गौशाला वडा नं। ५ का मासु व्यवसायी महेश महतो होलीको समयमा प्रत्येक वर्ष ५र६ वटा खसी काटदै आएका थिए। यस वर्ष कोरोना भाइरसको त्रासका कारण दुई वटा खसी मात्र किनेको उनले बताए।उनले भने, ‘हामी प्रत्येक वर्ष खसी लिएर गाउँमा काटने गर्थ्यौँ। मासुका लागि १५ दिन पहिला नै सबै आ–आफ्नो नाम लेखाउने गर्थे। तर यस पटक कसैले मासु लिन चासो नलिएपछि दुई वटा खसी मात्र लिएको छु।’
त्यस्तै गौशाला–२ का जिवछ महतोले पनि पहिलेको तुलनामा मासुको बिक्रीमा कमी आउने बताए।उनले भने, ‘पहिले–पहिले हरेक घरपरिवारमा बढी मात्रामा मासु लिने गरिन्थ्यो तर यस पटक कोरोनाको कारण मागमा कमी आउँछ।’होली नजिकिए पनि आफूहरुमा यसको कुनै उत्साह नरहेको मासु व्यवसायीहरु बताउँछन्।कोरोना भाइरसको त्रासले व्यापार व्यावसाय नै चौपट्ट भएको जनकपुरधाममा मासुको व्यापार गर्दै आएका साजिद हुसैन बताउँछन्। यसअघिका वर्षमा भ्याइ–नभ्याइ भएपनि यस पटक पसलनै सुनसान रहेको उनको भनाइ छ।हुसैन अरु वर्ष होलीमा ८ देखि ९ क्वीन्टलसम्म कुखुराको मासु बेच्थे तर यसपटक मुस्किलले दुई क्वीन्टलसम्म मासु बिक्री हुने उनको अनुमान छ।उनले भने, ‘गत वर्ष ९ क्वीन्टल मासुको बिक्री गरेको थिएँ। तर यसपटक २ क्विन्टल बिक्री भए आफूलाई भाग्यमानी ठान्छु।’माछा मासु व्यवसायी संघका हकिम राइनले कोरोनाको त्रासले माछामासु व्यवसायमा प्रत्यक्ष रुपमा असर परेको बताए।उनका अनुसार जनकपुरधाममा मात्रै होलीको दिन ३ हजारभन्दा बढी खसीबोका काटिन्थ्यो। तर यसपटक मुस्किलले १ हजार खसी काट्ने तयारी भइरहेको राइनले बताए।