ठगीको आरोपमा म्यानपावर व्यवसायी पक्राउ

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौं–म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि उठाएर फरार भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

‘विभिन्न मानिसहरूको उजुरी आएपछि श्रेष्ठलाई नेपालगञ्जबाट हिजो (शनिवार) पक्राउ गरेर काठमाडौं ल्याइएको हो,’ डीएसपी बोगटीले भने ।

काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै ३० देखि ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर भागेको भन्ने उजुरी परेको प्रवक्ता बोगटीले बताए ।

‘पहिलो चरणको उजुरी परेको छ, दोस्रो चरणका उजुरीहरू आइरहेका छन् । कति जना ठगिएका छन् भन्ने अझै एकिन भइसको छैन । सबै उजुरी आएपछि मात्र कति जना ठगिएका हुन् भन्ने पत्ता लाग्छ,’ डीएसपी बोगटीले भने ।