वडा कार्यालयसहित नौ घरमा चोरी

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- गएराति काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ का दुई सरकारी कार्यालयसहित ९ घरमा चोरी भएको छ । गाउँपालिको वडा नम्बर ८ को वडा कार्यालय र जनस्वास्थ्य कार्यालयसहित अन्य ७ जना स्थानीयको घरमा चोरी भएको पीडित समेत रहेका स्थानीय प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशराज खरेलले जानकारी दिए ।गएराति ११ बजेदेखि १२ बजेको बीचमा ९ वटै स्थानमा चोरी भएको खरलले बताए । उनले भने, “चोरी भएको सबै घरमा मान्छे नभएका बेला पारेर चोरी भएको देखिएको छ, धेरै दिनदेखि निगरानीमा राखेर सुनियोजित रूपमा चोरी भएको जस्तो देखिन्छ ।”

गाउँपालिको वडा नम्बर ८ को पौवा भन्ने ठाउँमा माइली तामाङको घरमा सामान्य चोरी भएको तर विवरण नखुलेको उनले जानकारी दिए । त्यस्तै महिला स्वयंसेवीका समेत रहेकी दुर्गा उप्रेतीको घरबाट करिब ३६ हजार नगद र चाँदीका पाउजु एक जोडी, भुम्लु गाउँपालिकाको वडा नम्बर ८ को वटा कार्यालयबाट २५ हजार नगद चोरी भएको छ ।भुम्लुटारकै शोभा तामाङको घरबाट करिब २५ हजार, भुम्लुटारकै रमेशराज खरेलको घरबाट छारो र बुहारीको दराजबाट नगद र गहना चारी भए पनि एकिन विवरण नभएको, भुम्लुटार स्वास्थ्य चौकीको मुख्य गेटको ताला फोरेर भित्र गएको तर कुनै क्षति नभएको, मेजर लामा तामाङको पसलबाट करिब २ हजार, सुब्बा खत्रीको पसलबाट २६ हजार र आइतराज तामाङको घरबाट करिब ४० हजारको चोरी भएको वि।व्य।स अध्यक्ष खरेलले जानकारी दिए ।चोरी कसले गर्‍यो भन्ने विषयमा कुनै जानकारी नभएको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक, दोलालघाट प्रहरी कार्यालयको प्रहरी नायब निरीक्षक र स्थानीय जनर्निवाचित प्रतिनिधि सहितको बैठक बसे पनि कसले चोरी गर्‍यो भन्ने एकिन जानकारी नभएको उनले बताए ।