समीक्षाले भनिन् मलाई पनि मामासँगै डिस्चार्ज गर्नू
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाले एक्लै डिस्चार्ज नहुने जानकारी चिकित्सकहरुलाई दिएकी छन्। ३२ वर्षीया संग्रौलाले मामा समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै डिस्चार्ज गर्न आग्रह गरेकी हुन्।
उपचारमा संलग्न एकजना चिकित्सकका अनुसार समीक्षालाई डिस्चार्ज तयारी गरिएको छ। ‘डोनर समीक्षा डिस्चार्जका लागि तयार भइसक्नु भएको छ’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर उहाँले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुन्छु भन्नु भएको छ।’
प्रधानमन्त्रीको स्वास्थ्यका सबै सूचक सकारात्मक, शुक्रबारसम्म डिस्चार्ज हुने
उनले आईसीयुमै प्रधानमन्त्री ओलीलाई भेट्न चाहेकी थिइन्। तर चिकित्सकहरुले अहिलेसम्म आफन्तहरुलाई प्रधानमन्त्रीसँग भेटघाट गर्न दिएका छैनन्।
अब चिकित्सकहरुले मामा(भाञ्जी दुवैलाई आगामी शुक्रबारसम्ममा एकसाथ डिस्चार्ज गर्ने भएका छन्। ‘अबको तीन दिनभित्र हामी प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दैछौँ’ डा. दिव्या सिंह शाहले भनिन्, ‘परिवारबाटै केही दिन अस्पतालमै राख्न भनेकाले राखेका हौँ, प्रधानमन्त्रीको स्वास्थ्यका सबै सूचक सकारात्मक छन्।’