डिस्चार्ज हुँदै प्रधानमन्त्री

शुक्रबार, ३० फाल्गुन २०७६

काठमाडौं– ११ दिनयता अस्तापलमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार डिस्चार्जको तयारी गरिएको छ। गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
अहिले ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको र सबै सूचक राम्रो रहेकाले शुक्रबारसाँझसम्म डिस्चार्जको तयारी गरिएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल जनाएको हो ।

यसैबीच पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन् ।