अन्दाजको भरमा कारबाहीको नाटक मञ्चन गर्नु ‘घृणित षड्यन्त्र’ पौडेल

शुक्रबार, ३० फाल्गुन २०७६

कामाठडैं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक मञ्चन गरेको आरोप लगाएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै त्यस्तो कार्यलाई ‘घृणित षड्यन्त्र’ भएको टिप्पणी गरे। स्वयं बागी उम्मेदवार बनेर खुलेआम अन्तर्घात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा कारबाहीको नाटक मञ्चन गर्न नहुने बताएका छन्।

‘यस्तै षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाई जारी छ’, नेता पौडेलले प्रेस विज्ञप्ती मार्फत भनेका छन्, ‘नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ, मलाई यो सह्य छैन।’

पार्टी केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे नेतृत्वको अनुशासन समितिले वि।स।२०७४ सालमा भएको स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई दोषी देखिएको अवस्थामा कारबाही गर्दै आएको छ।

केही अन्तर्घात गरेका भनिएका नेताहरूलाई कारबाही गर्न पार्टी सभापति देउवा र आफ्नो समझदारीमा दोस्रो पटक स्पष्टीकरण सोधिएको भन्ने केही सञ्चारमाध्यममा समाचार आएपछि नेता पौडेलले विज्ञप्तीमार्फत अभिव्यक्ति सार्वजनिक भएको हो।