कोरोनाका कारण मध्यपूर्वमा रिलज भएन ‘आमा
काठमाडौं– विश्वभर कोरोना भाइरस संक्रमणको असर नेपाली चलचित्रलाई पनि परेको छ । नेपालसहित विदेशमा पनि नेपाली चलचित्रमा कोेरोना भाइरस संक्रमणको असर परेको हो ।
नेपाली कथानक चलचित्र ‘आमा’ मध्यपूर्व’का देशमा रिलिज हुने भनिए पनि कोरोना कै कारण प्रदर्शनमा आउन सकेन । निर्देशक दीपेन्द्र के खनालका अनुसार दुवई, ओमान, कतार, बहराइन र कुवेतमा अप्रिल २ बाट ‘आमा’ रिलिज हुने तयारी थियो ।
“मिडल इस्टमा पनि आमा अप्रिल २ बाट मिडल इस्टका दुवई, ओमान, कतार, बहराइन र कुवेतमा रिलिज हुने तय भएको थियो । तर कोरोना कै कारण प्रदर्शन हुन सकेन,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “नेपाल बाहिर अमेरिकामा तीन हप्ता चलेको चलचित्र हिजोबाट कोरोनाकै कारण रोकियो । युकेमा टिकट बिक्री भइसकेको चलचित्र पनि चल्न पाएन । होल्डमा राखिएको छ ।”
उनका अनुसार अब कोरोनाको संक्रमण हटेर अवस्था सहज बनेपपछि चलचित्र प्रदर्शनमा आउने छ ।
‘आमा’ अमेरिका र अष्ट्रेलियामा नेपालमा रिलिज भएकै दिनबाट प्रदर्शनमा आएको थियो । नेपाली रहेका अन्य देशबाट पनि चलचित्रको माग भइरहेको दीपेन्द्र बताउँछन् ।
दीपेन्द्रको लेखन, छायांकन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला मुख्य भूमिकामा छन् । हस्पिटल ड्रामा ‘आमा’ लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।