कर्णालीका नागरिकलाई दुई लाखको विपत् बीम
सुर्खेत( कर्णाली प्रदेश सरकारले नागरिकका लागि दुईलाख रुपैयाँसम्मको प्राकृतिक विपत् दुर्घटना बिमा कार्यक्रम शुरु गरेको छ। चैत्र १ गतेदेखि लागू हुनेगरी कार्यक्रम शुरु गरिएको हो।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका करिब कर्णालीका १७ लाख ७० हजार नागरिक र कर्णालीमा कार्यरत कर्मचारीको सुरक्षाको लागि बीमा कार्यक्रम शुरु गरिएको मन्त्री नरेश भण्डारीले जानकारी दिए। यसका लागि प्रति वर्ष प्रति व्यक्ति ८ सय रुपैंया ४८ पैसा लगानी गर्ने गरी कार्यक्रम लागुहुन लागेको उनले बताए।
प्राकृतिक विपत्मा परि ज्यान गुमाउने कर्णालीका नागरिकले बिमा बापत् प्रति व्यक्ति दुई लाख रुपैयाँ पाउने मन्त्री भण्डारीले बताए। कर्णालीमा हरेक वर्ष प्राकृतिक प्रकोपका घटनाहरु भईरहने भन्दै मन्त्री भण्डारीले नागरिकको सुरक्षालाई ध्यानमा राखी सरकारले कार्यक्रम ल्याएको बताए। ‘राष्ट्रिय वीमा कम्पनी लिमिटेडसँग विहीबार सम्झौता भएको छ।
उनले भने‘ कर्णालीका जनताको बिमा गरी दुर्घटना भएको खण्डमा राहत प्रदान गर्ने उदेश्यले यो कार्यक्रम लागुगर्न लागिएको हो।’ मन्त्री भण्डारीले यसअघि गत असोज १ गते राहत रकम १ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बिमा कम्पनी सँग सम्झौता भएको भएपनि राहत रकम बढाउन र कर्मचारीलाई समेटनका पुन नयाँ सम्झौता गरिएको उनले बताए।
उनका अनुसार बिमा कार्यक्रमका लागि सरकारले १ करोड ५० लाख ९ सय ६ रुपैयाँ खर्च गरेको छ। ‘हामीले पहिले गरेको सम्झौता अनुसार बिमाका लागि प्रति व्यक्ति सात रुपैंयाका दरले १ करोड २३ लाख ९० हजार तिर्नुपर्ने थियो।’ मन्त्री भण्डारीले थपे ‘त्यसमा २६ लाख १९ हजार ६ सय रुपैंया थप गरेर बिमित व्यक्तिले दुइ लाख रुपैंया पाउने व्यवस्था गरेका छौं ।’
यो संगै कर्णाली प्रदेशभित्र विपद्को उच्च जोखिममा रहेका घरहरुको समेत घरबिमा कार्यक्रम ल्याउन लागेको जानकारी भण्डारीले दिए । कर्णाली प्रदेशका उच्च जोखिममा रहेका करिब १० हजार घरपरिवारलाई समेटेर घर बीमा गरीने मन्त्री भण्डारीले जानकारी दिएका छन्।
‘घर बीमा कार्यक्रममा दुर्घटना भए ५ लाख सम्मको भुक्तानी दिनेछौं।मन्त्री भण्डारीले भने‘ बीमा कम्पनीलाई प्रतिघर ५ सय रुपैयाँ शुल्क तिर्ने सरकारको तयारी छ ।’ यो वर्षभित्रनै घरबिमा कार्यक्रम लागू गर्ने गरी तयारी गरेको मन्त्री भण्डारीले बताए।
राष्ट्रिय बीमा कम्पनीका कार्यकारी अधिकृत डिल्लीराज अर्यालले भूकम्प, बाढी र जलमग्न, पहिरो र जमिन धसिने वा भाँसिने, हावाहुरी तथा आँधीबेहरी, चट्याङ्ग, आगलागी, हिउँ लगाएतका प्रकोपबाट ज्यान गुमाएकाहरुलाई बीमाको भुक्तानी दिइने बताए। त्यस्तै सामूहिक आगलागी र वन डढेलोका कारण समेत नोक्सानी भए बिमाको भुक्तानी दिईने उनले बताए।