सबस्टेसन बनाउन उद्योगले जग्गा दिने
काठमाडौं –उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चोभारमा सवस्टेसन बनाउन जमिन उपलब्ध गराउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सवस्टेसनका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
करिब २० वर्षअघि सुरु भएर पनि निर्माण हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ।
ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सवस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पुर्याउने योजना अघि सारेको हो। तर, सवस्टेसन निर्माण गर्न जमिन नहुँदा काम अघिबढ्न सकेका छैन।
त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुक्खा बन्दरगाह निर्माण गर्न खरिद गरेको थियो। उद्योगअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ। कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ।
ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सवस्टसन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने ऊर्जाले जनाएको छ। चोभारमा सवस्टेन नबनाउँदा विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाडौं ल्याउन असम्भव प्रायः छ।
ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, सहसचिव प्रवीणराज अर्याल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, सहसचिव एवं सुक्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी थिए।