बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक
काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । आयोगले द्वन्द्वकालीन अवस्थामा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको हो ।
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना वा प्रमाण भएमा त्यसबारे जानकारी गराउन आयोगको टोल फ्री नम्बर १६६०–०१–
२२१११ मा सम्पर्क गरेर अथवा कार्यालयमै पुगेर सूचना दिने व्यवस्था मिलाएको छ ।
आयोगका सूचना अधिकारी निराजन घिमिरेले केही दिनअघि आयोगमा परेका उजुरीका आधारमा बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नामावली सार्वजनिक गरिएको जानकारी दिए । बेपत्ता पारिएकाहरूका बारेमा थप प्रमाण, कागजात संकलनको काम भइरहेको पनि बताए ।
सूचना अधिकारी घिमिरेले उजुरीका आधारमा अहिले आयोगले रोल्पामा छानबिन प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए । “बेपत्ता पारिएकाहरूका बारेमा खुल्ने थप प्रमाण, कागजातहरू संकलनका लागि हामीले आश्वान गरेका छौं,” उनले भने, “प्राप्त हुने थप प्रमाण जम्मा गर्नेदेखि छानबिनको काम भइरहेको छ । अहिले रोल्पामा छानबिन चलिरहेको छ ।”