एसियाली विकास बैंकद्वारा ६ अर्ब ५० करोड डलर सहयोगको घोषणा

बुधबार, ५ चैत्र २०७६

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसबाट प्रभावित नेपालसहित विकासशील मुलुकलाई ६ अर्ब ५० करोड डलर तत्काल सहयोगको घोषणा गरेको छ । एडीबीले आफ्ना सदस्य विकासशील मुलुकलाई करिब ७ खर्ब ६० अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

उक्त सहयोग घोषणा गर्दै एडीबीका अध्यक्ष मासात्सुगु अशाकावाले विश्वको प्रमुख संकटको रुपमा कोरोना भाइरस देखिएको भन्दै राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रुपमा प्रभाविकारी तवरबाट काम गरिनुपर्ने बताए ।

आफ्ना सदस्य राष्ट्रलाई कोरोनाको संकटबाट उत्पन्न परिस्थितीबाट उद्धार गर्न एडीबीले सहयोग घोषणा गरेको उनले बताए । उनले यो परिस्थितीको सामना गर्न जस्तोसुकै सहयोग गर्न एडीबी तयार रहेको पनि बताए ।

६ अर्ब ५० करोड डलरमध्ये ३ अर्ब ६० करोड डलर स्वास्थ्य तथा आर्थिक क्षेत्रका लागि प्रारम्भिक सहयोग रहने उनले बताए । यस्तै १ अर्ब ६० करोड डलर कोरोनाबाट प्रभावित लघु, साना तथा मझौला उद्योग संचालनका लागि सहयोग गरिने एडीबीले जनाएको छ ।