कोरोना लागेको आशंका गरिएका विरामीले गरे आत्महत्या

बिहिबार, ६ चैत्र २०७६

काठमाडौं – कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्मा हत्या गरेका छन । ती विरामीले भारतको राजधानी दिल्ली स्थित सफदरजंग अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका हुन ।

संक्रमणको आशंकापछि ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आत्महत्या गर्नेको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि स्पष्ट छैन । यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो ।

उनी अस्पतालको आइसोलेसन वार्डमा राखिएका थिए । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।