कोरोना प्रभाव : आजदेखि शैक्षिक कन्सल्टेन्सीहरु पनि बन्द
काठमाडौँ – नेपालमा संचालिक शैक्षिक परामर्श दिने परामर्श केन्द्रहरु आजदेखि बन्द हुने भएका छन । विश्वभर फैलिको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण देखाउँदै शैक्षिक परामर्श केन्द्रहरु बन्द हुने भएका हुन ।
सरकारले गरेको आग्रहलाई पच्छ्याउँदै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यस अघि आजदेखि आफ्ना सदस्य कन्सल्टेन्सीहरुलाई बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो । इक्यानमा आवद्ध कन्सल्टेन्सी मात्र होइन प्राय सबै कन्सल्टेन्सीहरु आजदेखि बन्द हुने छन ।
चीनको बुहानबाट फैलिएको कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्थासहित शैक्षिक परामर्श दातृ संस्थाहरु बन्द गर्ने निर्णय गरेपछि इक्यानले पनि आफू मातहतका सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।
‘महामारीबाट बच्न हरेक नागरिकले आफू नै सचेत भएर सावधानीका उपायहरु अपनाउनु अति आवश्यक भएको छ । त्यसैले सम्पूर्ण संस्था बन्द गर्ने निर्णय भएको हो,’ पाण्डे द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकारले सबै शैक्षिक संस्था लगायत मानिसहरुको चहलपहल हुन सक्ने सबै क्षेत्रहरुलाई आगामी चैत्र मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै सबै सदस्य संस्थाका कार्यालय तथा संघका कार्यालय समेत आगामी चैत्र मसान्तसम्मका लागि बन्द गरिएको इक्यानले जनाएको छ ।
