भयावह बन्दै कोरोना, इटलीमा एकैदिन ६ सय २७ को ज्यान गयो
काठमाडौं – इटालीमा कोरोना भाइरस (कोभिड–१९)बाट एकै दिन ६२७ जनाको ज्यान गएको छ । कोरोनाको संक्रमणबाट इटलीमा एकै दिनमा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च हो ।
यससँगै, इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।
इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ ।
कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् ।
अवस्था भयावह बनेपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताएका हुन् ।