कोरोनाका कारण बेलायतमा अर्का एक नेपालीको मृत्यु
काठमाडौं– कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।
अहिले साउथ इस्ट लण्डनमा बस्दै आएका अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनि रहेको बताइएको छ।
बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो ।
केहि समयदेखि उनलाई सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गतशनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो।
स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकैक्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो। गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।