कालिकोटमा कोइला आतङ्क, मालिका माईको प्रसाद भन्दै ग्रहण गर्दै

शुक्रबार, १४ चैत्र २०७६

कालिकोट – कालिकोट, दैलेख, बाजुरा लगायतका जिल्लाहरुमा कोइला आतङ्क मच्चिएको छ । विश्वभर कोरोलाले आक्रान्त पारिरहेका वेलामा दुर्गम क्षेत्रका जनताले घरको ढोकामा कोइला र तिलक भेटिएको बताएका छन ।

विहानैदेखि हल्ला फैलिएपछि ती जिल्लाका गाउँगाउँमा अहिले ढोका अगाडी खनेर तिलक निकाल्ने काम चलिरहेको छ । कालिकोट जिल्लाका प्रत्यक घरहरुमा तिलक भेटिएको एक स्थानियले बताएका छन ।

मालिका माइको प्रसाद सबैको घरघरमा आएको र त्यसको टिका लगाए कोरोना नलाग्ने भन्दै हल्ला फैलाइएको छ । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको लोखाडा भन्ने ठाउँका एक धामीले घरघरमा मालिका माइको उपहार छोडिदिने बताएको भोलिदपल्ट यस्तो भएको स्थानिहरुले बताएका छन । ति धामीले तिलकको टिका लगाए कोरोना नलाग्ने भनेपछि सबैले खोजी गर्दै तिलकको टिका लगाइरहेका छन ।

कालिकोट र दैलेख जिल्लाभित्रका घरघरमा कोइला खन्ने काममा सर्वसाधारण खटिएका छन । यता कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कोइला काण्डको बारेमा आफू जानकार रहेको बताएका छन् । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अहिलेसम्म पनि कालिकोटमा रुढिबादी परम्परा कायमै छ । एक जनाले चलाएको हल्ला पुरै जिल्लाभरी फैलिएको छ । यसको पछि नलाग्न सबैलाई आग्रह गर्दछु ।’

मालिका माइले बिहबार राति ९ बजेबाट नेपालमा सबैको घरको ढोकामा तिलक राखेको भन्दै हल्ला भइरहेको छ । कोरोना नलाग्ने भनेपछि सबैले खोजिखोजि तिलकको टिका लगाइरहेका छन ।