नेपाली सेना र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

शुक्रबार, १४ चैत्र २०७६

काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र वन्यजन्तु चोरी तस्करी समूहबीच दोहोरो भिडन्त भएको छ । तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको हो । सेनाको गोली लागेर एक तस्करको मृत्यु भएको छ ।

घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो ।

श्रेष्ठले भने, ‘नियमित गस्तीको क्रममा निकुञ्जको मूल क्षेत्रमा फायिरङ्गको आवाज आएपछि निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोली त्यसतर्फ गएको थियो । सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको थियो । जसमा जमदार छन्त्याल घाइते भएका छन् । शिकारी समूहका एक जनाको मृत्यु भएको छ । अन्य व्यक्तिहरु भने बन्दोबस्तीसहितको हतियारहरु छाडेर फरार भएका छन् ।’

निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले बताए । घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको उनले बताए ।