प्रधानमन्त्री पछि स्वास्थ्यमन्त्रीमा पनि कोरोना पुष्टि

शनिबार, १५ चैत्र २०७६

काठमाडौं – बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमन्त्री ह्यानककले एक ट्विट गर्दै आफूमा कोरोना भाइरस देखिएको जानकारी दिएका हुन्।

शुक्रबारै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। प्रधानमन्त्री बोरिसलाई कोरोना देखिएसँगै आफ्नो पनि परीक्षण गर्नुपर्ने सल्लाह बमोजिम जाँच गराएको र संक्रमण देखिएको स्वास्थ्यमन्त्री ह्यानककले बताएका छन्। ह्यानकक अहिले सेल्फ आइसोलेसनमा बसिसकेका छन्। उनले आफ्नो कार्यभार घरबाटै निर्वाह गर्ने पनि जानकारी दिएका छन्।

स्वास्थ्यमन्त्री ह्यानककले आफूमा कोरोनाका सामान्य लक्षण देखा परेको र स्वास्थ्य सामान्य रहेको बताएका छन्। साथै उनले सावधानीका सबै उपाय अवलम्बन गर्दै स्वास्थ्य सेवालाई सघाउँदै जीवन रक्षामा लाग्न सबैलाई आह्वान गरेका छन्।

बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ ले बढेर ७५९ पुगेको छ। अहिले सम्म बेलायतमा १४ हजार ५ सय ७९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाकै कारण लन्डनमा दुई जना नेपालीको मृत्यु भइसकेको छ।