कोरोनाका विरामीले तातो पानी समेत पाएनन्

शनिबार, १५ चैत्र २०७६

धनगढी – धनगढीका उपचारार्थ कोरोनाका चौथो विरामीले आफूलाई हेर्न डाक्टर नआएको गुनासो गरेका छन । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई अस्पतालले औषधिको परको कुरा तातो पानी नदिएको गुनासो पोखेका छन ।

शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ । तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनको आरोप छ ।

आफ्नो रिपोर्ट बारेमा जानकारी पाउन पनि दुःख पाएको उनको भनाई छ । धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताए ।

संक्रमित ती युवाका अनुसार उनलाई अस्पतालले अहिले भर्ना भएको बेला राखिएको ठाउँबाट अर्को ठाउँमा राखेको छ । उनले भने, ‘मलाई औषधि र तातो पानीसम्म कसैले सोध्न आउँदैनन् ।’

जबकी कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको उनले सुनाए ।

अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ता बढेको उनले सुनाए । ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलन गरिँदैछ ।

‘अहिलेसम्म मलाई घरबाटै खाना ल्याइएको थियो । घरका सबैलाई रंगशाला राखिएको छ अब कसरी खाना ल्याउने ? उनको गुनासो छ ।

अस्पतालले झुलबाहेक केही नदिएको उनले बताए । चिकित्सकहरु पनि डरले नजिक नआएको हुनसक्ने भन्दै उनी भन्छन्, ‘समस्या भए कसलाई भन्ने पनि थाहा छैन ।’