पूर्वी नेपालका जनतालाई खुशीको खवर

शनिबार, १५ चैत्र २०७६

काठमाडौं – पूवीनेपालका जनताका लागि खुशीको खवर छ । आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस (कोभिड १९)को परीक्षण सुरू हुने भएको छ।

परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिव कुमार शर्माले बतए । ‘हामीले आइतबारदेखि कोरोना भाइरसको परीक्षण यहीँबाट सुरू गर्ने भएका छौं। अहिलेलाई यहाँ आएको कुन पनि केसलाई काठमाडौं पठाउन पर्दैन,’उनले भने,’विस्तारै पूर्वाञ्चलका सबै केसहरू हेर्न सकियोस् भन्ने हो। देशलाई संकट परेको बेलामा हामी दिनरात खटेर भए पनि त्यसका लागि प्रयास गरिरहेका छौं।’

धरानमा विभिन्न कार्यक्रमका लागि आएको बजेट र नेपाल सरकारले गरेको सहयोगमा ल्याबको स्थापना गरिएको छ । सुरूआती दिनमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्न सकिने गरी ल्याब तयार भएको माइक्रोबायोलोजी विभागका सह–प्राध्यापक नारायण भट्टराईले बताए । ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति आफूहरूसँग रहेको सह–प्राध्यापक भट्टराईले बताए।

तत्कालका लागि आवश्यक पर्ने किटहरू रहेको उनले जानकारी दिए। धरानबाट अहिलेसम्म २० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको डा शर्माले बताए।

उनका अनुसार अहिले ७ जनलाई आइसोलेसनमा राखिएको छ। केही स्याम्पलहरू परीक्षणका लागि काठमाडौं ल्याइएको छ। समुदायमै गएर कोरोना भाइरसको परीक्षण गर्न स्रोत साधनले नपुग्ने भएकाले लकडाउनको पालना गर्न र ‘सोसल डिस्टेन्स मेन्टेन’ गर्न समेत उनले सुझाव दिएका छन्।