अस्ट्रेलियामा रहेका ७ जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण
काठमाडौं – अस्ट्रेलियामा रहेका सात जना नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सिड्नीमा रहेका उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको पछि उनीहरू हाल आइसोलेसनमा राखिएको छ ।
‘ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य तीन जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेको बताइएको छ ।
उनीहरू बस्ने अपार्टमेन्टमा ५० भन्दा बढी नेपाली विद्यार्थी बसोबास गर्दै आएको बुभिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार विद्यार्थीहेका स्वास्थ्य स्थितिका बारेमा चासो राखिएको छ । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको राजदुत दाहालले बताए ।
यसैगरी, मेलवर्नमा एकै परिवारमा रहेका तीन जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ।्
‘हामीकहाँ हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नमा बसोबास गर्ने सात जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दूतावासले उनीहरूसँग सम्पर्क गरिरहेको छ’, राजदूत दाहालले भने।
कोरोनाको संक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपिङ सेन्टरहरू बन्द भएका छैनन्।
अझसम्म केन्द्रीय सरकारले स्कुल तथा कलेज बन्द गर्ने निर्णय नगर्दा विद्यार्थीहरू यसबाट प्रभावित हुने जोखिम बढेको छ।
हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको र यस्तो परिस्थितिमा सबैले संयम भएर घरमा बस्न र भीडभाडमा नजान राजदूत दाहालले आग्रह गरेका छन्।