युएईबाट आएका पाल्पाका एक युवाको कोरोना अस्पतालमा मृत्यु
बुटवल – युएईबाट नेपाल आएका एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा पाल्पाका ३३ बर्षिय युवाको मृत्यु भएको हो ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्दै आएको उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएका दिएको छ ।
ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए । चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए ।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।