बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका व्यक्तिको नयाँ तथ्य खुल्यो
बुटवल – बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको बारेमा नयाँ तथ्य सार्वजनिक भएको छ । दुबइमा अस्पतालमा गाडी चलाउने काम गर्दै गर्दा स्वास्थ्यमा समस्या आएपछि नेपाल फर्किएको पाइएको छ । उनी नेपाल आउँदादेखि नै ज्वरो आएको पाइएको छ ।
रूपन्देहीको सैनामैना–४ का ३३ वर्षीय पुरुष ६ चैतमा दुबईबाट नेपाल फर्किएका थिए । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज दिउसो १ बजे उनको मृत्यु भएको थियो ।अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा भन्छन्, ‘युएईबाट आउँदा नै उनलाई सामान्य ज्वरो आएको रहेछ । ७ गते स्थानीय मेडिकलबाट ज्वरोको औषधि ल्याएर खाएका रहेछन् । निको नभएपछि मात्र अस्पताल आए ।’
उनी १३ गते साँझ अस्पताल भर्ना भएका थिए । तर अस्पताल भर्ना भएको चौथो दिन मात्र उनको थ्रोट स्वाबको नमुना संकलन गरेको काठमाडौं पाइएको छ ।
‘उनी भर्ना भएको १३ गते बेलुका हो’ अस्पतालका सूचना अधिकृत डा. बिष्णुप्रसाद गौतमले भने भने, ‘त्यही दिन दिउँसो ६ वटा नमुना एम्बुलेन्समामार्फत् काठमाडौं पठाएका थियौं । १४ गते शुक्रबार भो, हिजो शनिबार । त्यसैले आज बिहानै उहाँसहित ७ जनाको नमुना पठाएका छौं ।’
स्वाब संकलन गर्ने सामग्री भिटिएम (भाइरल ट्रान्सपोर्ट मेडिया) अभाव हुनुका साथै विमान सेवा बन्द भएका कारण एक जनाको मात्र नमुना संकलन गरेर पठाउन समस्या भएको उनले सुनाए ।
कोरोना विशेष अस्पतालका अनुसार आइसोलेसन वार्डमा भर्ना भएका उनको अवस्था ठीकै थियो । तर आइतबार विहानबाट एक्कासी श्वासप्रश्वासमा समस्या आएको र दिउँसो १ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
उनी दुबइको एक अस्पतालमा गाडी चलाउने काम गर्थे । उनको परिवार भने सैनामैनामा घर भाडा लिएर बसेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।
६ गते काठमाडौं आएका उनी भोलिपल्ट घर पुगेका थिए । परिवार र आफन्तसँग पनि भेटघाट गरे ।
उपचारकै क्रममा आइतबार उनको मृत्यु भएपछि परिवारका सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।