चीनसँग किनिएका उपचार सामग्री किन भए दशौं गुणा महंगा ? यस्तो छ मन्त्रीको भित्री चलखेल
काठमाडौं – नेपाल सरकारले चीनबाट खरिद गरेका ल्याएको सामाग्री अत्याधिक महङ्गो भएको पाइएको छ । कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्रीको मूल्य बजार भाउभन्दा दशौं गुणा महङ्गो भएको पाइएपछि अनियमिततका भएको हुनसक्ने आशंका गरिएको छ ।
चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान किनेर करोडौंको भष्ट्राचारको भएको यस क्षेत्रका विज्ञहरुले बताएको छन । सामाग्री किन्दा मात्र महङ्गो भएको छैन खरिद गरेको ल्याएका सामाग्रीको ढुवानी पनि नेपाल सरकारलेनै व्यहोर्ने भएपछि झन शंका गर्ने ठाउँ रहेको छ । नेपालसम्म ढुवानीका लागि विमान चार्टर खर्च पनि नेपाल सरकारले नै ब्यहोरेको छ ।
नेपाल सरकारले खरिद गरेका सामाग्रीको पहिलो नम्बरको सूचीमा रहेको गगल्सको मूल्य १८ डलर परेको छ । जहाँ कि चीनमा यो गगल्सको मूल्य न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ ।
एक लाख थान गगल्सलाई परल मूल्य भन्दा १७ करोड रुपैयाँ बढी तिरेको नेपाल–चीन व्यापारका जानकारहरू बताउँछन् । एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले खरीद गर्न लागेको थर्मोमिटरको मूल्य ६५ डलर परेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।
यस्तै, एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ ।
कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने गैरआवासीय नेपाली संघ, चीनका केन्द्रीय सदस्य नविन बिक बताउँछन् ।
यसमा मात्रै १४ लाख डलर अर्थात १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको उनको भनाइ छ । ‘व्यापारीले १०–१५ प्रतिशत नाफा राख्नु अस्वाभाविक होइन ४००–५०० प्रतिशत महंगोमा खरिद गरेको देखेपछि बोल्न बाध्य भएँ’, बिकले भने ।
एनआरएनए–चीनको मूल्य
सामान खरिदका लागि एनआरएनए चीनले पनि टेन्डर हालेको थियो । उच्च सरकारी अधिकारीबाट प्राप्त सूचना अनुसार उसको टेन्डरमा एन–९५ मास्कको मूल्य जम्मा ०.९५ डलर छ ।
यस्तै, ज्वरो नाप्ने ‘टेम्परेचर गन’ को २७ डलर, कभरलको ४ डलर, पिसिआर टेस्ट कीटको मूल्य १० डलर प्रस्ताव गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।
यो बेइजिङमा उपलब्ध गराउने मूल्य हो । तर, चार्टड विमानको ढुवानी खर्च एक लाख हजार डलर एउटै सामानको आइटमबाट निस्कने देखिन्छ । किनभने, माथि चर्चा गरिएको गगल्समा १५ लाख र कीटमा १४ लाख डलर बढी तिरिएको छ ।
जबकि सरकारले यी सबै सामान ५÷६ गुणा बढी मोल तिरेर किनेको देखिन्छ । एनआरएनए चीन आफैले सरकारलाई कोरोना रोकथाम सम्बन्धी सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले भने जिन्सीको सट्टा नगदै माग गरिरहेको छ ।
परराष्ट्रका एक सहसचिव भन्छन्, ‘हामीले एनआरएनएलाई मास्क, कीट, पञ्जा होइन, नगदै चाहिन्छ भनेका छौं किनभने पैसा भएपछि हामी आफै किनिहाल्छौं नि ।’
सामान किनेपछि छलफल
पछिल्लो दिनमा चिनियाँ कम्पनीहरुले स्पेनसहित युरोपेली मुलुकमा निर्यात गरेका यस्तै सामाग्री गुणस्तरहीन भएको पाइएपछि स्पेनले ती सामाग्रीको प्रयोगमा रोक लगाएको छ ।
नेपालले ल्याउन लागेका सामाग्रीको गुणस्तरको कसरी यकिन गरियो भन्ने विषयमा स्पष्ट पारिएको छैन । गुणस्तरहीन सामाग्री भएको आशंकामा स्थलमार्गबाट आउन लागेका ३६ हजार डलर बराबरका सामाग्रीलाई तिब्बत सरकारले शनिबार सीमानामा रोकिदिएको छ ।
सामान खरीद प्रकृयामा संलग्न नेपाल चेम्बर अफ कमर्स सम्वद्ध केही व्यवसायीको सेटिङमा नेपाल सरकारले निकै महंगो सामान खरीद गर्न लागेको बताइएको छ । सरकार समान आयात गर्न छलफल गर्नु भन्दा पहिला नै चीनमा सामान खरिद भइसकेको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी चीनबाट खरिद गरिएको सामानमा भ्रष्टाचार भएको भनेर प्रश्न उठेपछि सरकारले यसको जवाफ दिनुपर्ने बताएका छन । उनी भन्छन्, ‘भ्रष्टाचार भएको छ, छैन हचुवामा भन्न मिल्दैन । तर, प्रश्न उठेपछि सरकारले जवाफ दिनैपर्छ ।’
कोरोना भाइरस जस्तो महामारीलाई पनि कतिपयले देश लुटले अवसर बनाउन खोजेको रेग्मीको भनाइ छ । उनी भन्छन्, ‘कुनै पनि बाहनामा पारदर्शिताबाट भाग्न मिल्दैन, यस्तो संकटका बेला सरकार–सरकार (जीटुजी) मोडलबाट खरिद गर्नुपर्छ ।’

