काठमाडौंको वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

सोमबार, १७ चैत्र २०७६

काठमाडौं – काठमाडौंको बीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंका गरिएका दुई जना बिरामीको मृत्यु भएको हो ।

भारतबाट हालै मात्र फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।