लिस्बनमा रुम शेयर गरि बस्ने ८ नेपालीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं – पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए।
उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए।
सङ्क्रमितमध्ये एक बालक र एक गर्भवती पनि छन्। उनीहरुमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ। अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ।
सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म पोर्चुगलमा कोरोनाको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ।