कोरोना त्रास, अस्पतालले भर्ना लिन नमान्दा गयो बिरामीको ज्यान
विराटनगर – अस्पतालले समयमै बिरामी भर्ना नगर्दा एक जनाको ज्यान गरेको छ । कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने भन्दै विराटनगरको एक अस्पतालले भर्ना लिन नमान्दा धनकुटाकी नरदेवी गुरुङको ज्यान गएको हो ।
धनकुटा महालक्ष्मी नगरपालिका लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङलाई उच्च ज्वरो आएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराइएको थियो।
अस्पतालले आइसियु बेड खाली नभएको भन्दै बिरामीलाई विराटनगर पठायो । उच्च रक्तचापका कारण बेहोस भएर लडेकी उनलाई उच्च ज्वरो पनि आएको थियो । बिरामीका दाजु शिवकुमारका अनुसार विराटनरमा ज्वरो उच्च रहेकोले कोरोना भाइरसको आशंका गर्दै भर्ना गर्न मानेनन्। महालक्ष्मी नगरपालिका ५ का वडाध्यक्ष समेत रहेका शिवले विराटनगर अस्पतालबाट दिउँसो नै नोवेल मेडिकल कजेज शिक्षण अस्पताल लगेको बताए।
‘विराटनगरको विभिन्न अस्पताल लैजाँदै भर्ना लिन नमान्दा ढिलो भयो र मंगलबार नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीको उपचारका क्रममा साढे ३ बजे मृत्यु भयो,’ उनले भने। नोवेलका चिकित्सकले उपचारका लागि ढिलो आइपुग्दा बिरामीलाई जोगाउन नसकिएको बताएका थिए ।
सामान्य ज्वरो, रुघाखोकी लागेका र जटिल समस्या भएका बिरामीलाई पनि कोरोनाको शंकामा अस्पतालले भर्ना लिन अस्वीकार गरिरहेका छन् । जसका कारण सहज रुपमा उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ ।