धनगढीका कोराना संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार : भने ‘डराउनु पर्दैन, कोरोनामा सामान्य रोग हो’

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – धनगढीमा कोरोना संक्रमण पुष्टि भएका युवाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी अहिले सामान्य अवस्थामा पुगीसकेको अस्पतालले जनाएको छ ।

सुरुवाती दिनहरुदेखि नै ठुलो आत्माविश्वा लिएर रोगसँग लडिरहेका उनलाई कोरोनाको लक्षण देखिन छोडेको छ । उनले सुरुदेखिनै ‘कोरना भाइरसको लक्षण छैन । मेरो फेरि एक पटक परीक्षण गरियोस्’ भनेर अडान राख्दै आएका थिए ।

दुबईबाट भारत हुँदै नेपाल आएका धनगढीका ३४ वर्षका उनको आत्मविश्वासमा सुरुदेखि नै कमी थिएन । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको शुक्रबार रिपोर्ट पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीहरु पनि नजिक पर्न डराए ।

तर, उनले हिम्मत हारेनन् । आफूलाई बेवास्ता गरिएको र तातोपानीसम्म नदिएको खबर सञ्चारमाध्यमहरुलाई दिए । त्यसपछि चिकित्सक पनि केही गम्भीर देखिए ।

‘मैले सुरु देखिनै हिम्मत हारिन’ उनले भने, ‘अहिले पनि मलाई केही भएको छैन जस्तो लाग्छ ।’ उनले टेलिफोनमा भने भने, ‘यो सामान्य रोग हो । यसले कमजोर व्यक्तिमा आक्रमण गर्छ । यो रोग लागेपछि खुशी हुनुपर्छ, हाँसिरहनुपर्छ । म त्यस्तै गर्छु ।’

उनकाअनुसार स्वास्थ्यमा सुधार भइरहेको छ । ‘हिजो अस्ति सामान्य पखाला लागेको थियो । डाक्टरले भनेका यो निको हुने लक्षण हो रे’ उनले भने, ‘डाक्टरले भने अनुसार औषधि खाइरहेको छु । केही दिनमै ठिक हुन्छु भन्ने लागेको छ ।’

उनको दोस्रो चरणको नमुना संकलन गर्न बाँकी नै छ । ‘नियमित परीक्षण भइरहेको छ । केही सुधार आएको पाइएको छ’ सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले भने ।