कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो, ९ लाख संक्रमित

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – विश्वभर कोरोना भाइरस )कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । वल्र्डमिटरका अनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार नौ सय ५७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय ४५ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच हजार ११६ पुगेको छ ।

त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

अहिलेसम्म यो भाइरस संक्रमणपछि एक लाख ९४ हजार १ सय ८६ जना मानिसहरु निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेमा भने चीन अगाडि छ ।

चीनमा अहिलेसम्म ७६ हजार चार सय २० जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै, स्पेनमा २२ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

अमेरिकामा भने आठ हजार पाँच सयभन्दा बढी मानिस मात्र निको भएर फर्किएका छन् ।